२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपालका हिमाली क्षेत्रमा रहेका स–साना हिमतालले पनि ठूलो जोखिम निम्त्याइरहेको विज्ञहरूले बताएका छन्। पछिल्लो समय रसुवा, मुस्ताङ, दोलखा र सोलुखुम्बुमा हिमताल फुट्दा भीषण बाढी र धनजनको क्षति भएको छ।

विशेषज्ञहरूका अनुसार तापक्रम वृद्धिका कारण हिमनदी पग्लने दर तीव्र हुँदै जाँदा नयाँ स–साना हिमतालहरू बन्न थालेका छन्। यी हिमतालहरू चाँडै फुट्ने खालका भएकाले स्थानीय बस्ती, सडक, जलविद्युत् आयोजना र व्यापारिक नाकामाथि प्रत्यक्ष असर पर्न थालेको हो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त अध्ययनअनुसार नेपाल, भारत र चीनमा रहेका ४७ वटा हिमताल फुट्ने उच्च जोखिममा छन्। यसमध्ये २१ वटा नेपालभित्रै पर्ने र जति बेला पनि फुट्न सक्ने अवस्थामा रहेका छन्।

तर, जोखिम न्यूनीकरणका लागि आवश्यक लगानी भने अभाव रहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशीले बताए। उनका अनुसार, यी हिमताल फुटेमा खर्बौँको आर्थिक क्षति हुने र ठूलो संख्यामा जनधन जोखिममा पर्नेछ।

नेपालले अघिल्लो पटक सोलुखुम्बुको इम्जा तालमा ३.४ मिटर सतह घटाएर जोखिम न्यूनीकरण गरेको अनुभव छ। हालै हरित जलवायु कोष  बाट करीब ५ अर्ब रुपैयाँ बराबरको अनुदान प्राप्त भइसकेको छ, जसअन्तर्गत चार वटा जोखिमपूर्ण हिमतालको सतह घटाउने योजना अघि बढाइएको छ।

तर, विज्ञहरूको भनाइमा स–साना हिमतालहरूमासमेत अध्ययन र पूर्वसूचना प्रणाली आवश्यक छ। समयमै प्रभावकारी लगानी र नीतिगत ध्यान नदिइए आगामी दशकमा हिमताल विस्फोटजन्य विपद्को जोखिम अझै बढ्ने चेतावनी दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय