
प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्कँदैछन्।
प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए भने एससिओ शिखर सम्मेलनलाई सम्बोधनसमेत गरेका थिए। नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ।
शिखर सम्मेलनमा सहभागी रहँदा प्रधानमन्त्री ओलीले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
त्यस्तै, उनले चीनका उपराष्ट्रपति हान झेङसँग बेइजिङमा भेटवार्ता गरेका थिए। भ्रमणमा प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, एमाले सांसद छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी थिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।