
जुम्लाको हिमा गाउँपालिकाले जेन–जेड आन्दोलनका क्रममा भएको क्षतिको पुनःनिर्माणका लागि ११ लाख ४३ हजार २९७ रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको बैठकले मुलुकको पुनःनिर्माणमा योगदान गर्ने उद्देश्यले शिक्षक, कर्मचारी र जनप्रतिनिधिको तलबभत्ताबाट उक्त रकम संकलन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तीन दिनको तलब बराबर र जनप्रतिनिधिहरूको छ दिनको तलबभत्ता बराबर रकम कट्टा गरिनेछ।
गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले सहानुभूति र सहयोगको भावनाले प्रेरित भई साझा जिम्मेवारी स्वरूप योगदान गरिएको बताए। “जनताको मर्म बुझ्ने र सुख–दुखमा साथ दिने प्रतिबद्धताअनुरूप पुनःनिर्माणमा सहभागी हुने निर्णय गरिएको हो,” उनले भने।
बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।