
ढीपहिरोमा आफन्त र जायजेथा गुमाएका पीडित नागरिकमाथि सामाजिक सञ्जालमा अभद्र तथा अनावश्यक टिप्पणी गर्नेहरूविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने भएको छ ।
प्रधानमन्त्रीले शनिबार देशवासी, विशेषगरी बाढीपीडित नागरिक र ज्येष्ठ नागरिकका नाममा सन्देश जारी गर्दै पीडामा रहेका मानिसमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिनेहरूलाई ‘अपराधी’ भन्दै उनीहरूमाथि सरकार निर्मम हुने चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीले बाढीका कारण आफन्त गुमाएर पीडामा रहेका नागरिकको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडाको अभिव्यक्ति भएको भन्दै उनले त्यस्तो आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका हुन् ।
उनले संवेदनशील अवस्थामा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी भएको र त्यस्ता व्यक्तिप्रति सरकार कठोर हुने बताएका छन् ।
के थियो घटना ?
केही दिनअघि भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवाको टिमुरेबाट भदौ १० गतेदेखि बेपत्ता भएका श्रीमान्को खोजीका लागि एक महिलाले गरेको कारुणिक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
काखमा सानो नानी च्यापेर रोइरहेकी ती महिलाले ‘मेरो मान्छे किन खोज्दैनस् यो सरकार ? कि सास दे कि लास दे’ भन्दै आफ्नो पीडा व्यक्त गरेकी थिइन् ।
उनले व्यवस्था परिवर्तनका लागि भन्दै घण्टीमा भोट दिएको तर संकटको समयमा घण्टीकै सरकार र जनप्रतिनिधिबाट सहयोग नपाएको गुनासो गरेकी थिइन् ।
सरकारको आलोचना गर्दै रास्वपाको प्रसंगसमेत निकालेकी ती महिलामाथि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले अभद्र टिप्पणी गरेका थिए । कतिपयले उनलाई ‘अभिनय’ गरेको आरोप लगाएका थिए भने केहीले राजनीतिक पूर्वाग्रह राख्दै अश्लील तथा अपमानजनक शब्द प्रयोग गरी चरित्रहत्या गर्न खोजेका थिए ।
दैवी विपत्तिमा आफन्त गुमाएका र सर्वस्व गुमाएका नागरिकमाथि सहानुभूति र न्यायको साटो सामाजिक लाञ्छना लगाउने प्रवृत्तिको आलोचना भइरहेको छ ।
पीडित महिलामाथि सामाजिक सञ्जालमा भएको अभद्र व्यवहारप्रति रास्वपा सांसद रञ्जु दर्शनाले पनि आपत्ति जनाएकी थिइन् ।
उनले ती महिलाको जीवनमा प्रलय गएको र भोलिको अनिश्चितताले मन काँपिरहेको भन्दै यस्तो अवस्थामा व्यक्त भएको आक्रोशलाई बुझ्नुपर्ने बताएकी थिइन् । सरकारलाई गाली गरेको आफूलाई पनि राम्रो नलागेको भए पनि त्यो गालीभन्दा माथि आफ्नो मान्छे फर्केर आउने आशा रहेको उनले उल्लेख गरेकी थिइन् ।
कसैको पीडामाथि खिसिट्युरी गर्दै अशोभनीय टिप्पणी गर्नु दुःखद र निन्दनीय भएको भन्दै दर्शनाले खेद व्यक्त गरेकी थिइन् ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
