२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

निजामती सेवाभित्र पनि जेनजी समूह गठन भएको छ। बुधबार उक्त समूहले प्रधानमन्त्री सुशिला कार्कीलाई भेटी ज्ञापनपत्र बुझाउँदै प्रशासनिक नेतृत्व बहिर्गमनसहित विभिन्न माग राखेको छ।

जेनजी आन्दोलनपछि विभिन्न क्षेत्रमा सक्रिय हुँदै आएका नवयुवा समूह अब सार्वजनिक प्रशासनको रूपान्तरणका लागि अगाडि बढेका छन्। समूहले भ्रष्टाचार अन्त्य, सुशासन कायम र प्रशासनलाई प्रभावकारी बनाउन सात बुँदे माग अघि सारेको हो।

समूहले हालको राजनीतिक र प्रशासनिक नेतृत्वलाई देशको संकटको मूल कारण ठहर गर्दै तत्काल बहिर्गमनको माग गरेको छ। साथै, निजामती सेवा, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग, शैक्षिक क्षेत्रलगायतमा हुने राजनीतिक हस्तक्षेप तत्काल रोक्नुपर्ने बताएको छ।

दलीय ट्रेड युनियन खारेज, संघीय निजामती सेवा ऐनसहितका कानुन तत्काल जारी गर्ने, वस्तुनिष्ठ मूल्यांकन प्रणाली, अनुमानयोग्य बढुवा र चक्रीय सरुवाको व्यवस्था गर्ने माग समेत राखिएको छ। साथै, २५ वर्ष सेवा पूरा गरेका वा ५३ वर्ष उमेर पुगेका कर्मचारीलाई स्वैच्छिक अवकाश को अवसर दिनुपर्ने उल्लेख छ।

समूहले भ्रष्ट कर्मचारीमाथि तत्काल छानबिन गरी कारबाही गर्न, अग्रपंक्तिमा काम गर्ने प्रहरी र स्थानीय सेवाका कर्मचारीहरूको मनोबल उच्च बनाउन प्रणालीगत सुधार आवश्यक रहेको पनि बताएको छ।

ज्ञापनपत्रमार्फत समूहले माग तत्काल सम्बोधन नभएसम्म अभियानलाई निरन्तर अघि बढाउने चेतावनी दिएको छ। साथै, सम्पूर्ण निजामती कर्मचारी र आम नागरिकलाई सार्वजनिक प्रशासन रूपान्तरणको अभियानमा साथ दिन अपिल गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय