
नवघोषित कुमारी आर्यतारा शाक्यले आज मंगलबार कुमारीघरमा विधिवत् रूपमा आसन ग्रहण गर्ने भएकी छन्।
स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारालाई मध्याह्नको शुभसाइतमा विशेष बाजागाजासहित कुमारीघरमा प्रवेश गराइने र जीवित देवीको रूपमा आसन ग्रहण गराइने तयारी पूरा भएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।
आसन ग्रहण पछि नवकुमारीलाई तलेजु भवानी मन्दिरमा दर्शनका लागि लैजाने परम्परा अनुसार यात्रा गराइनेछ। पूजाआजा गरिने जीवित देवी कुमारीलाई महालक्ष्मीको प्रतीकका रूपमा मानिन्छ। तत्कालीन राजा जयप्रकाश मल्लले कुमारी परम्परा आरम्भ गरेको इतिहास रहेको छ।
कुमारी छनोट प्रक्रियामा गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति तथा सरोकार भएका पक्षहरूको सल्लाह–परामर्शपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको थियो। समितिका अनुसार यसअघि सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो।
परम्पराअनुसार कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखले पनि नवकुमारीको दर्शन गर्ने परम्परा रहेको व्यवस्थापन समितिले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।