प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा आएको परिवर्तनका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट जानकारी गराउन निर्देशन दिएकी छिन्।
बुधबार परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली नियोगका प्रमुखहरूसँग गरिएको भर्चुअल बैठकमा प्रधानमन्त्री कार्कीले नेपालमा भएको स्थायित्व र सुधारका विषयमा सम्बन्धित मुलुक तथा संस्थाहरूसँग सक्रिय समन्वय गर्न आग्रह गरिन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्रीले हालको सरकार जनआन्दोलनबाट बनेको भएकाले त्यसले ल्याएको राजनीतिक स्थायित्व, सुशासन र आगामी निर्वाचनका तयारीबारे विश्व समुदायमा सकारात्मक सन्देश पुर्याउन आवश्यक रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “नेपालमा जनआन्दोलनपछि लोकतान्त्रिक अभ्यास बलियो हुँदै गएको छ, यो सन्देश हामीले हरेक मित्रराष्ट्रमा पु¥याउनुपर्छ।”
उनले हालै तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीलाई सहज बनाउन विदेशी सहयोग र साझेदारी आवश्यक हुने बताउँदै, त्यसका लागि नियोगहरूले सक्रिय कूटनीतिक संवाद बढाउन निर्देशन दिइन्।
त्यसैगरी उनले जेन–जी आन्दोलनपछि प्रभावित पर्यटन, लगानी र विकास क्षेत्र क्रमशः पुनःसञ्चालनमा फर्किन थालेको उल्लेख गर्दै विदेशस्थित दूतावासहरूलाई नेपालको स्थिरता र सम्भावनाबारे प्रचार–प्रसार गर्न आग्रह गरिन्।
प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई प्रभावकारी सेवा प्रवाह गर्न र उनीहरूलाई पुनर्निर्माण अभियानमा सहभागी गराउन पनि निर्देशन दिइन्।
उनका अनुसार सरकारले हालै जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माणका लागि विशेष कोष स्थापना गरेको छ, जसको जानकारी पनि अन्तर्राष्ट्रिय साझेदारहरूलाई गराउनुपर्ने बताइयो।
बैठकमा सहभागी राजदूतहरूले नेपालको स्थिरताबारे विश्व समुदायमा सकारात्मक सन्देश पुर्याउने प्रतिबद्धता जनाएका थिए।