२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरण आजदेखि सुरु हुँदैछ। आज हुने तीन खेलमध्ये एकमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै सुपर सिक्समा स्थान सुरक्षित गरेको थियो। युएईले पनि २ अंकका साथ सुपर सिक्समा प्रवेश गरेको छ। आजको खेल दुवै टिमका लागि जित्दै विजयी सुरुवात गर्ने अवसर हुनेछ।

पछिल्ला भेटमा नेपालले युएईविरुद्ध लगातार उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्दै आएको छ। तर युएई अझै पनि नेपालका लागि सजिलो प्रतिद्वन्द्वी होइन। सुपर सिक्सको महत्वपूर्ण चरण भएकाले आजको भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

हाल युएईले पछिल्ला महिनामा एसिया कपमा प्रभावशाली प्रदर्शन गरेको छ भने उसले अफगानिस्तान र पाकिस्तानसँगको टी–२० सिरिजमा पनि बलियो खेल प्रस्तुत गरेको थियो। त्यसैले ऊ राम्रो लयमा रहेको छ।

त्यस्तै नेपालले विश्वकप छनोट अघि युएईमै वेस्टइन्डिजविरुद्धको सिरिज २–१ ले जित्दै आत्मविश्वास बढाएको छ। आजको खेलमा पनि बल, ब्याटिङ र फिल्डिङ तीनै विभागमा सन्तुलित प्रदर्शन गर्न सके नेपालले जित निकाल्ने सम्भावना बलियो छ।

समूह चरणका दुवै खेलमा एउटै टिम खेलेको नेपालले आज केही परिवर्तन गर्नसक्ने अनुमान गरिएको छ। कुशल मल्ल र सन्दीप जोराको स्थानमा आदिल आलम अन्सारीलाई मौका मिल्ने सम्भावना छ।

सुपर सिक्स चरणमा रहेका ६ टोलीमध्ये प्रत्येकले ४–४ खेल खेल्नेछन्। नेपालले आजको खेलपछि ओमान, कतार र सामोआसँग पनि प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सका शीर्ष तीन टोली यसै वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय