आज देशभर कार्तिक कृष्ण त्रयोदशीका अवसरमा काग तिहार मनाइँदैछ । यमराजका दूतका रूपमा मानिने कागलाई मीठा परिकार खुवाएर श्रद्धा र भक्तिसाथ पूजा गर्ने परम्परा आज पनि निरन्तर चलिरहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार शास्त्रअनुसार सूर्योदयकालमा त्रयोदशी परेकै दिन काग तिहार मनाउने चलन छ । त्यस अनुसार आज आइतबारको दिन नै काग तिहार मनाउन उपयुक्त रहेको उनले बताए ।
हिन्दू धर्मशास्त्रअनुसार कागलाई यमराजका दूतका रूपमा पूजा गरिन्छ, किनभने उसैमार्फत यमराजले लोकका खबर थाहा पाउँछन् भन्ने विश्वास रहिआएको छ । आजका दिन कागले घर वरिपरि कराए शुभ संकेतको प्रतीक मानिन्छ, र मानिसहरूले “शुभ बोल, शुभ बोल” भन्दै स्वागत गर्छन् ।
‘काकेन दधि भक्षितम्’ भन्ने उक्तिअनुसार कागलाई दही भात विशेष प्रिय हुन्छ । त्यसैले आज धेरै घरहरूमा बिहानै दही भात तयार पारेर कागलाई खुवाइन्छ, जसले यमराजसमक्ष शुभ सन्देश पुर्याउने जनविश्वास रहिआएको छ ।
यस अवसरमा भक्तपुर, काठमाडौं र काभ्रेलगायत स्थानका कागेश्वरी मन्दिरहरूमा विशेष पूजाआराधना हुँदैछ । विशेषगरी कागेश्वरी मनोहरा–१ स्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ ।
तिहार पर्व केवल कागको पूजा मात्र होइन, सत्कर्म र दुष्कर्मबीचको सन्देश पनि हो । विश्वास गरिन्छ—सत्कर्म गर्नेको रक्षा धर्मराजका रूपमा यमराजले गर्छन् भने, दुष्कर्म गर्नेले दण्ड भोग्नुपर्छ ।
शनिबार बेलुकादेखि नै यमपञ्चक सुरु भइसकेको छ, जसअन्तर्गत परिवारका सबै सदस्यका नाममा यमदीप दान गर्ने चलन छ । दक्षिणतर्फ फर्काएर दियो बाल्दा यमयातनाबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता रहेको छ ।
यससँगै शनिबार धनतेरस पनि मनाइयो, जसमा सुनचाँदीका गरगहना र तामाका भाँडाकुँडा किन्ने परम्परा रहिआएको छ । धार्मिक विश्वासअनुसार यस दिन किनिएका धातुका सामानले लक्ष्मीलाई घरमा स्थिर राख्ने बताइन्छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
