भारत सरकारको सहयोगमा सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका–१ मा निर्माण गरिएको बसेपु–हलु खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा एक रोचक घटना घटेको छ । प्रमुख अतिथि भारतका नेपालस्थित राजदूत नवीन श्रीवास्तव कार्यक्रमको बीचमै हिँडेका हुन् ।
गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले आफ्नो सम्बोधन सकेपछि राजदूत श्रीवास्तव बोल्ने पालो थियो तर उनले वक्तव्य नदिई कार्यक्रमस्थल नै छोडेका हुन् ।
सो घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । भिडियोमा राजदूत श्रीवास्तवले अध्यक्ष बस्नेतलाई भनेका छन् “हामी राजनीतिक भाषण गर्दैनौँ, कृपया यो कार्यक्रममा राजनीति नगरौँ ।”
त्यसपछि उनले आफ्ना टोलीका सदस्यहरूसँगै मञ्चबाट उठेर बाहिरिएको दृश्य भिडियोमा स्पष्ट देखिन्छ ।
भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न उक्त खानेपानी आयोजनाको उद्घाटन समारोह स्थानीय स्तरमा आयोजना गरिएको थियो तर कार्यक्रममा स्थानीय राजनीतिसम्बन्धी टिप्पणी आएको भन्दै राजदूतले असन्तुष्टि जनाएका हुन् ।
घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिपयले राजदूतको कदमलाई कूटनीतिक मर्यादासँग मेल नखाने बताएका छन् ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
