वर्षा र हिमपातका कारण रोकिएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५’को छायांकन फेरि सुरु भएको छ । करिब ३२ घण्टासम्म अवरुद्ध भएको छायांकन बुधबार बिहानदेखि पुनः सुचारु भएको अभिनेता विजय बरालले बताएका छन् ।
मुस्ताङको लार्जुङ क्षेत्रमा छायांकन भइरहेको यो चलचित्र सोमबार रातिदेखि परेको लगातार हिमपात र वर्षाका कारण रोकिएको थियो । बरालका अनुसार अहिले मौसम केही सामान्य बनेपछि पुनः छायांकन सुरु गरिएको हो ।
‘आजबाट पुनः काम सुरु भएको छ,’ बरालले भने, ‘करिब सवा दिन जति रोकिएको थियो । अहिले हाम्रो स्थानमा खासै असर छैन, तर वरिपरिका हिमालहरू सेतै देखिएका छन् ।’
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा सक्रिय मोन्था चक्रवातको प्रभाव नेपालमा समेत पुगेपछि हिमपात र वर्षा भएको हो । विभागले शुक्रबारसम्म देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात जारी रहने अनुमान गरेको छ ।
रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको ‘कबड्डी ५’मा दयाहाङ राई, मिरुना मगर र विजय बराललगायत कलाकारको अभिनय रहेको छ । ‘कबड्डी’ सिरिजका अघिल्ला चारै भागले दर्शकको अपार माया पाएका थिए ।
