तीन दिनदेखि अवरुद्ध विपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। काभ्रेको चारसयबेशी र पिप्ले क्षेत्रमा पहिरोले रोकिएको सडकमा डाइभर्सन निर्माण भएपछि यातायात सुचारु भएको हो।
बिहीबारदेखि परेको लगातार वर्षाका कारण राजमार्गका विभिन्न भागमा पहिरो र लेदो पसेर सडक अवरुद्ध भएको थियो। चौकीडाँडा, नाङसाल क्रसर, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेशी, विरुवाडाँडा र डालाबेशी क्षेत्रमा सडक क्षति पुगेपछि आवागमन रोकिएको थियो।
यद्यपि, सडक सञ्चालनमा आए पनि रोशी खोलाको किनार र माथिबाट झर्ने सुक्खा पहिरोको जोखिम कायम रहेको प्रशासनले जनाएको छ। यात्रु र सवारी चालकलाई सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।
स्थानीय र प्राविधिक टोलीले आपत्कालीन डाइभर्सन तयार गरेपछि आज बिहानदेखि सवारी चल्न थालेका छन्। प्रशासनले भने वर्षा दोहोरिन सक्ने भन्दै यात्रामा सतर्कता अपनाउन सुझाव दिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
