नेकपा एमालेका नेता महेश बस्नेतले आफू, आफ्नो पार्टी, र अघिल्ला प्रधानमन्त्री–मन्त्रीहरु सबै छानविनको दायरामा आउनुपर्ने बताएका छन्। आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै उनले राज्यको स्रोत र साधनको दुरुपयोग नेतामात्र गर्छ भन्ने धारणा गलत भएको टिप्पणी गरे।
बस्नेतले भने, “म १३ महिना मन्त्री भएँ, के मैले राज्यको स्रोत र साधनको दुरुपयोग गरेँ? छानविनको दायरामा आउन तयार छु, खुलेर चुनौती दिएको छु। एमालेले पनि यही भनिरहेको छ – हामी सबै छानविनका लागि तयार छौँ।”
उनले अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई समेत छानविनको दायरामा ल्याउन माग गरे। “सुशीला कार्की प्रधानन्यायाधीश हुँदा स्रोत र साधनको दुरुपयोग भएको हो कि होइन भन्ने विषयमा छानविन हुनुपर्छ। त्यस्तै अर्थसचिव रामेश्वर खनालले बजेट निर्माणमा ठूला व्यवसायीहरुसँग मिलेर के के सेटिङ गरे भन्ने पनि जाँचिनुपर्छ,” उनले भने।
बस्नेतले उर्जामन्त्री रहँदा कुलमान घिसिङले विद्युत प्राधिकरणका प्रमुखका रूपमा भारतसँग गरेको सम्झौताबाट नेपालले ४५ करोड घाटा बेहोर्नुपरेको दाबी गरे। “कुलमानजीले अहिले भारत भ्रमणमा अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तारको नाममा एकोहोरो भाडा दिनेगरी सम्झौता गर्नुभयो। यसरी घाटा हुने सम्झौता गर्नेहरुमाथि नै कारबाही सुरु गर्नुपर्छ,” उनको भनाइ थियो।
उनले दुई महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको पनि औंल्याए। “जसले राज्य सञ्चालन गर्छ, उसले पारदर्शिता देखाउन सक्नुपर्छ। जनता सामु उत्तरदायी बन्ने संस्कार अबैदेखि सुरु हुनुपर्छ,” बस्नेतले जोड दिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
