एसिसी यू–१९ प्रिमियर कपमा नेपालले मलेसियालाई सहज रूपमा नौ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। अजमानस्थित सेभेन डिस्ट्रिक्ट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालको बलिङशक्ति पुनः चम्कियो र प्रतिद्वन्द्वीलाई १७ ओभरमै ५१ रनमा समेट्दै फाइनलको ढोका खोलेको हो।
टस जितेर पहिला बलिङ रोजेको नेपालले सुरुवातमै मलेसियालाई चापमा राख्यो। पहिलो पाँच विकेट गुमाउँदा मलेसियाले जम्मा ८ रन मात्र जोड्न सकेपछि खेल एकतर्फी बन्दै गयो। शीर्षक्रमका सातै बल्लेबाज दोहोरो अंकमा पुग्न असफल रहे। हम्जा पांगीले १३ र मुहम्मद फातुलले ११ रन बनाएर टोलीलाई मुश्किलले ५० रनभन्दा माथि पुर्याए।
नेपालका तर्फबाट नितेश कुमार पटेल घातक साबित भए। उनले ८ ओभरमा २४ रन दिँदै ४ विकेट लिए। चन्दन रामले ५ ओभरमा ३ विकेट झारे भने अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक–एक विकेट जोडे।
जितका लागि ५२ रनको लक्ष्य पछ्याउन आएको नेपालले ७ ओभर ५ बलमै खेल सकियो। निरजकुमार यादव ४ रनमा आउट भए पनि त्यसपछि वंश क्षेत्री र निश्चल क्षेत्रीको अविजित साझेदारीले काम सजिलो बनायो। दुवैले मिलेर ५१ रनको साझेदारी गर्दै नेपाललाई फाइनलमा पुर्याए। वंशले २३ र निश्चलले १५ रन बनाए।
समूह चरणदेखि सेमिफाइनलसम्म अपराजित रहेको नेपाल अब उपाधिका लागि सोमबार यूएई र ओमानबीचको विजेतासँग भिड्नेछ।
