राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको बहुप्रतिक्षित एकता आज औपचारिक रूपमा घोषित हुँदैछ। शुक्रबार राति रास्वपाले विवेकशील साझा पार्टीले अघि सारेको एकता प्रस्ताव स्वीकृत गरेसँगै दुई दलले एकै संरचनामा अघि बढ्ने तयारी पूरा गरेका हुन्।
दुवै दलका शीर्ष नेताहरूको उपस्थितिमा आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गरिँदैछ। एकतापछि दलको नाम, नेतृत्व संरचना र चुनाव चिह्न कायम रास्वपाकै रहने तय भएको छ।
रास्वपाका अनुसार सुशासन, पारदर्शिता र नीति–आधारित राजनीतिक अभ्यासलाई सबल बनाउन दुई दलबीच सहकार्य आवश्यक रहेको र त्यसकै आधारमा एकता प्रक्रिया सुरु गरिएको हो। विवेकशील साझाले आन्तरिक निर्णयमा सर्वसम्मत समर्थन जनाएपछि एकीकरणलाई सहज ढंगले अघि बढाइएको जनाएको छ।
नेताहरूले एकतालाई मौजुदा राजनीतिक संस्कारमा ‘नयाँ विकल्प’ निर्माण गर्ने कदमका रूपमा लिएका छन्। आजको घोषणासभाबाट संयुक्त कार्ययोजना, संरचना र आगामी राजनीतिक दिशाबारे आधिकारिक जानकारी सार्वजनिक गरिनेछ।
