राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सर्ने भएको छ। रास्वपाले यही कात्तिक १४ र १५ गते काठमाडौंमा बस्ने तय भएको विस्तारित बैठक सार्ने भएको हो। रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको तयारीका लागि समय नपुगेका कारण सार्न लागिएको हो।
शनिबार भर्चुअल रूपमा बसेको रास्वपा सचिवालय बैठकले त्यसबारेमा छलफल गरेको थियो।’विस्तारित बैठकमा सहभागिता बढाउने विषयमा कुराकानी भएको थियो। त्यसका लागि समय नपुग्ने भएकाले कात्तिक तेस्रो साता बस्नेगरी बैठक सार्नुपर्ने निष्कर्ष रह्यो,’ महामन्त्री बुर्लाकोटीले भने।
यसअघि विस्तारित बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र पार्टी विभागका पदाधिकारी तथा जिल्ला सभापतिलाई सहभागी गराउने तय भएको थियो। रास्वपा फागुन ७,८ र ९ गते पहिलो महाधिवेशन गर्ने तयारीमा थियो। तर फागुन २१ गते चुनाव हुनेगरी मिति घोषणा भएकाले महाधिवेशन सार्ने विषयमा विस्तारित बैठकले छलफल गर्नेछ।
