प्रभु बैंकमा कर्जा दुरुपयोग प्रकरण गहिरिँदै गएपछि आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, उप–सिइओ मणिराम पोखरेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरी हिरासतमा राखेको छ।
अनामनगरस्थित केन्द्रीय कार्यालयमै गएर सिआइबी टोलीले पक्राउ प्रक्रिया अघि बढाएको हो। पाटन उच्च अदालतबाट अनुमति लिएर पक्राउ गरिएका यी तीन अधिकारीमाथिको आरोप भने सुरुवातमा खुलाइएको थिएन। तर पछिल्लो विवरणअनुसार उनीहरू ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐनका विभिन्न प्रावधान उल्लंघन मुद्दामा संलग्न देखिएका छन्।
यसअघि बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन कात्तिक ११ मा करिब एक अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका थिए। प्रभु मेनेजमेन्टद्वारा भएका ग्यारेन्टी तथा भुक्तानी रकमको मिलान नगरी रकम अपचलन गरेको भन्दै अध्यक्ष कुसुम लामाले दर्ता गरेको ठगीसम्बन्धी जाहेरीको अनुसन्धानकै क्रममा भट्टचन पक्राउ परेका थिए। उनी २४ कात्तिकमा हाजिर जमानीमा रिहा भएका थिए।
भट्टचनमाथि भएको अनुसन्धानकै क्रममा प्रभु बैंकबाट प्रभु मेनेजमेन्टमा प्रवाह गरिएको २७ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको देखिएको र त्यसमा बैंकको उच्च व्यवस्थापन पनि प्रत्यक्षरूपमा संलग्न भएको सिआइबीले उल्लेख गरेको छ। विशेषतः सिइओ अशोक शेरचनलगायत तीनै जनाको भूमिका शंकास्पद ठहरिएपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको हो।
उप–सिइओ मणिराम पोखरेल यसअघि पनि ऋण प्रक्रियामा पाँच प्रतिशतसम्म कमिसन लिने कार्यमा संलग्न भएको प्रमाण सार्वजनिक भए पनि नेपाल राष्ट्र बैंकले कुनै कारबाही नगरेको आरोप लगिँदै आएको थियो। अहिले एकैदिन तीन उच्चपदस्थ अधिकारी पक्राउ परेपछि मात्र राष्ट्र बैंक सक्रिय बन्दै बैंकलाई सुरक्षित राख्न वरिष्ठताअनुसार नीरज लम्साललाई निमित्त सिइओको जिम्मेवारी बोर्डले तोकेको छ।
प्रभु बैंकको उच्च तहमा देखिएको व्यवस्थापन संकट र कर्जा दुरुपयोग आरोपले बैंकिङ क्षेत्रमै ठूलो चर्चा सुरु भएको छ।
