सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक गर्ने तयारीसँगै आगामी पुस २७ गते साधारण सभा बोलाएको छ। कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्तावहरू प्रस्तुत हुनेछन्। कम्पनीका अनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने, आईपीओबाट उठ्ने पूँजीको उपयोग योजना तय गर्ने तथा नियामक निकायको आवश्यक निर्देशन आएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव सभा अघि राखिनेछ।
यस्तै, मातृ कम्पनी सिद्धार्थ केवलकार लिमिटेडसहित हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी र नुवाकोटगढी पर्यटन कम्पनीका वित्तीय विवरणहरू समेटिएको एकीकृत वित्तीय प्रतिवेदन पनि सभामा पेश गरिनेछ।
कम्पनीले आईपीओ जारी गर्ने तयारीलाई व्यवसाय विस्तार, पर्यटन पूर्वाधार सुदृढीकरण र भविष्यका परियोजनामा पूँजी प्रवाह गर्ने लक्ष्यका रूपमा व्याख्या गरेको छ।
