भन्सार ऐनका ‘अव्यवहारिक र अन्यायपूर्ण’ प्रावधानको विरोधमा भन्सार एजेन्ट महासङ्घले सुरु गरेको आन्दोलन आज देशभर तीव्र बनेको छ। महासङ्घको आह्वानपछि सबै भन्सार कार्यालयमा जाँचपास सेवा पूर्ण रूपमा रोकिएपछि आयात–निर्यात कार्य ठप्प भएको छ।
महासङ्घले लामो समयदेखि ऐनका केही प्रावधान संशोधन गर्न माग गर्दै आएको थियो। तर निरन्तर प्रयास र लबिङबाट पनि सरकार गुनासो नसुनेपछि अन्ततः जाँचपास रोक्न बाध्य भएको महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेले बताए।
उनका अनुसार नयाँ ऐनको दफा ७१ (झ) सबैभन्दा विवादास्पद रहेको छ, जसमा विद्युतीय प्रणालीमा कागजात अपलोड गर्दा सामान्य त्रुटि भए पनि जरिवाना लाग्ने प्रावधान रहेको छ। साथै, भन्सार कार्यालयमा सर्भरसम्बन्धी समस्या र पेशागत अधिकारको संरक्षण नभएकोले आन्दोलन चर्कन बाध्य भएको महासङ्घको भनाइ छ।
महासङ्घले चरणबद्ध आन्दोलन अन्तर्गत सोमबार वीरगञ्ज भन्सारमा पेनडाउन सुरु गरेको थियो। माग सम्बोधन नभएपछि आजबाट देशभरका भन्सार कार्यालयका सबै सेवा रोक्दै आन्दोलन विस्तार गरिएको छ।
भन्सार जाँचपास रोकिएपछि देशभर व्यापारिक गतिविधि ठप्प भएको छ र व्यापारिक चहलपहलमा व्यापक असर परेको छ।
