नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी ११औँ महाधिवेशनमा पुनः अध्यक्ष बन्ने सम्भावना खुला रहेको बताएका छन्। प्रेस चौतारी नेपालले काठमाडौंमा गरेको ‘सम्पादकहरूसँगको संवाद’ कार्यक्रममा बोल्दै उनले सहमति बनी आएमा वा महाधिवेशन प्रतिनिधिले विश्वास दिएमा आफू नेतृत्व सम्हाल्न तयार रहेको स्पष्ट पारे।
ओलीका अनुसार महाधिवेशनले नेतृत्वमा ‘क्रमिक पुस्तान्तरण’ को संकेत दिनेछ। उनले आफू कुनै दबाबमा नपरी नेतृत्वमा रहने–नबस्ने निर्णय लिने बताउँदै, सहमतिका लागि पार्टीभित्रै छलफलमा बस्न वरिष्ठ नेता ईश्वर पोखरेललगायतलाई संकेत गरे।
पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई जनअपेक्षाअनुसार अघि बढिरहेको र ‘देश बनाउने पार्टी’ को रूपमा काम गरिरहेको दाबी पनि गरे। उनले एमालेलाई कमजोर ठानेकाहरूलाई यही मंसिर २७ गते भक्तपुर, सल्लाघारीमा हुने उद्घाटन सत्रमै आएर वास्तविक हैसियत हेर्न चुनौती दिए।
यसैबीच, ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग हालैको भेटमा संसद् पुनःस्थापनाबारे पनि चर्चा भएको जानकारी दिए। भदौ २३–२४ का घटनापछि गठन गरिएको जाँचबुझ आयोगमा आफूले बयान दिन नपर्ने कानुनी व्यवस्था रहेको उनको जिकिर छ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
