२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी रहँदा मुलुक क्रमशः चुनावी माहोलमा प्रवेश गरेको देखिन्छ। निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरू आ–आफ्नो तयारीमा जुटेसँगै देशभर राजनीतिक चहलपहल बढ्न थालेको छ।

निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित प्रारम्भिक प्रक्रियाहरू अघि बढाइसकेको छ। प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ दल दर्ताको काम सकिएको छ भने आगामी निर्वाचनलाई लक्षित गर्दै थप तयारी तीव्र पारिएको छ। सरकार पनि निर्वाचन सहज रूपमा सम्पन्न गर्न आवश्यक सहजीकरण र समन्वयमा सक्रिय देखिएको छ।

राजनीतिक दलहरूले समेत निर्वाचन केन्द्रित गतिविधि विस्तार गरेका छन्। प्रमुख दलदेखि नयाँ दलहरूसम्म देशव्यापी अभियानमा होमिन थालेका छन्। नेपाली कांग्रेसले उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउँदै प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका उम्मेदवारको नाम केन्द्रमा पठाउन थालेको छ। प्रतिनिधिसभासँगै राष्ट्रियसभाका उम्मेदवार छनोटमा समेत कांग्रेस सक्रिय देखिएको छ।

नेकपा (एमाले) ले ११औँ महाधिवेशन सुरु गर्दै चुनावी सन्देशलाई प्राथमिकतामा राखेको छ। महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन भए एमाले बहुमत ल्याउन सक्षम रहेको दाबी गर्दै सरकारलाई निष्पक्ष चुनाव सुनिश्चित गर्न आग्रह गरेका छन्। आयोगले तोकेको समयसीमाभित्र दल दर्तालगायत प्रक्रिया पूरा गरिसकेको एमाले निर्वाचन तयारीमा केन्द्रित छ।

यसैगरी विभिन्न कम्युनिस्ट शक्तिहरू एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ‘सन्देशसभा’ मार्फत देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधि बढाएको छ। धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरपछि शनिबार सुर्खेतमा जनसभा सम्पन्न गरेको उक्त पार्टीले पुस ५ गते काठमाडौँमा ठूलो सन्देशसभा गर्ने तयारी गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचनका लागि वाचापत्र तयारीदेखि उम्मेदवार छनोट प्रक्रिया अघि बढाइसकेको छ। समानुपातिकतर्फ आवेदन खुला गरी भेलामार्फत चुनावी गतिविधि विस्तार गरिरहेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत विभिन्न समुदायका लागि प्रतिशत निर्धारण प्रक्रिया अघि बढाएको छ। यस प्रणालीतर्फ एक सय राजनीतिक दल सहभागी हुने भएका छन् भने प्रत्यक्षतर्फ एक सय १४ दलले भाग लिनेछन्। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरी सुझाव सङ्कलन गरिरहेको छ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसक्नुभएको छ। गृह मन्त्रालयले शान्ति सुरक्षाका सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि बढ्दै गएको छ र देशभर चुनावी माहोल क्रमशः सशक्त बन्दै गएको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय