२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

बझाङको बित्थडचिर गाउँपालिकामा खेल मैदान निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब–इन्जिनियर गणेशराज उपाध्याय, तत्कालीन लेखापाल हर्कदेव जोशी तथा खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

आयोगका अनुसार खेल मैदान निर्माण तथा सुधारका लागि आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख रुपैयाँ र सङ्घीय सांसद विकास कोषबाट विनियोजन भएको १५ लाख रुपैयाँ बजेट प्रयोग गरिएको थियो। सो कार्यका लागि आर्थिक वर्ष २०७५/७६ मै गठन भएको बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिलाई निरन्तरता दिँदै पुनः सोही समितिसँग सम्झौता गरिएको देखिएको छ।

त्यसैगरी, एउटै आर्थिक वर्षमा फरक–फरक स्रोतबाट बजेट विनियोजन भएको अवस्थामा छुट्टाछुट्टै लागत अनुमान तयार गर्नुपर्नेमा एउटै लागत अनुमान देखाएर एउटै उपभोक्ता समितिसँग दोहोरो सम्झौता गरिएको आयोगको भनाइ छ।

आयोगले बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणका क्रममा ठेकेदारले पूर्व गाउँपालिका अध्यक्षसँग मिलेमतो गरी कमसल निर्माण सामग्री प्रयोग गरेको, प्राविधिक रूपमा आवश्यक डिपिआर तयार नगरी काम अघि बढाएको तथा काम पूरा नगरी रकम हिनामिना गरेको आरोप लगाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौँमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय