२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट पार्दै जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू जिम्मेवार र सच्चिएर अघि बढ्नुपर्ने बताएकी छन्। निर्वाचन कानुन तथा व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले मुलुकको सर्वोच्च शक्ति जनता नै भएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलभित्र देखिने आन्तरिक तनाव र असन्तुष्टि जनतामाथि नथोपर्न आग्रह गर्दै दलहरू जनभावनाअनुसार सञ्चालन हुनुपर्ने धारणा राखिन्। उनले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिँदै राम्रो काम गर्ने दललाई छान्ने अधिकार जनताकै हातमा रहेको बताइन्।

दलहरूको आलोचना गर्दै उनले केवल पार्टीको गीत गाएर मात्र नहुने, देशको समग्र विकासका लागि अनुकूल वातावरण निर्माण गर्न सबैले योगदान दिनुपर्नेमा जोड दिइन्। सुशासनका सवालमा वर्तमान सरकार गम्भीर भएर काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनका सन्दर्भमा राजनीतिक दलबाट सकारात्मक सुझाव र सहयोग प्राप्त भएकोले निर्वाचनको वातावरण क्रमशः बन्दै गएको बताइन्।

उनले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी भई शान्ति कायम गर्न आह्वान गरिन्। सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा फैलाउन नसक्ने उनको भनाइ थियो। निर्वाचनको सुरक्षाप्रति उठेका चासोलाई सम्बोधन गर्दै सरकारले पूर्ण रूपमा सुरक्षित वातावरण बनाउन काम गरिरहेको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहभागी नभएका दललाई समेत शान्ति र लोकतन्त्रको हितमा निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरिन्। मुलुकमा दर्ता भएका ११४ वटै राजनीतिक दल एकजुट भए अशान्तिको सम्भावना नहुने उल्लेख गर्दै उनले शान्ति कायम गर्न दल, जेनजी प्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम र कर्मचारी सबैको भूमिका महत्वपूर्ण रहेको बताइन्।

विगतका त्रुटि र कमजोरीका कारण भदौ २३ र २४ का घटना भएको स्वीकार गर्दै उनले त्यसबाट उत्पन्न आवेग र आलोचनालाई सरकारले भोगिरहेको बताइन्। ती घटनाले जनमानसमा गहिरो प्रभाव पारेको उल्लेख गर्दै सरकार र राजनीतिक दलले जनतालाई दिने सन्देश र परिवर्तनको उद्देश्यबारे गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औँल्याइन्।

जेनजी र युवा पुस्ताले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता भएको बताउँदै प्रधानमन्त्री कार्कीले देशमा शान्ति र स्थायित्व कायम गर्न सबैले आफ्ना व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने धारणा राखिन्। आलोचनाका बाबजुद देशको हितका लागि सहन र भोग्न सरकार तयार रहेको भन्दै उनले समयको सदुपयोग गर्दै निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय