अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका विषयमा आज दलहरुसँग छलफल गर्दैछन्।साँझ ४ बजेका लागि डाकिएको बैठकमा प्रत्येक दलबाट दुई जनालाई प्रतिनिधित्व गराइदिन प्रधानमन्त्रीको तर्फबाट ७ वटा राजनीतिक दललाई पत्राचार गरिएको थियो। त्यस्तै नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र गगन थापा बैठकमा सहभागी हुने भएका छन्। राष्ट्रपतिले डाकेको बैठकमा पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिए।
‘उच्चस्तरिय सहभागिताका लागि भनेर पत्र आएको थियो’, माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक गोविन्द आचार्यले भने, ‘वर्षमानजी र पम्फाजी सहभागी हुनुहुनेछ। हाम्रो तर्फबाट सरकारलाई निर्वाचनमा सहयोग गर्ने र निर्वाचनको वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउने तयारी छ।‘
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि यसअघि राष्ट्रपति र निर्वाचन आयोगले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो। तर सरकार आफैले भने दलहरुसँग संवाद गरेको थिएन।
