राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा घोषणापत्र सार्वजनिक गरेको छ। परिवर्तन उद्घोष सभामार्फत सार्वजनिक गरिएको घोषणापत्रलाई पार्टीले ‘वाचापत्र’ नाम दिएको छ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डोलप्रसाद अर्याल (डीपी) र डा. स्वर्णिम वाग्ले लगायतका नेता सहभागी थिए।
रास्वपाले थिति बसाल्ने संकल्पसहित रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार तय गरेको जनाएको छ। वाचापत्रमा विभेद अन्त्यका लागि ठोस कानुनी, नीतिगत र संस्थागत सुधार अघि बढाउने उल्लेख छ।
जेनजी आन्दोलनको घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने, सार्वजनिक सेवामा सुधार गर्ने तथा २०४६ पछि सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता गरिएको छ। अवैध रूपमा आर्जन गरिएका सम्पत्तिहरू जफत र राष्ट्रियकरण गर्ने विषय पनि समेटिएको छ।
त्यस्तै सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन व्यवस्था खारेज गर्ने, न्यायाधीश नियुक्ति प्रक्रियामा दलगत प्रभाव र भागबण्डामा आधारित सिफारिसको अन्त्य गर्दै मेरिटोक्रेसी र प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गर्ने नीति लिइने उल्लेख गरिएको छ।
वाचापत्रमा आर्थिक समृद्धि, कृषि आधुनिकीकरण, ऊर्जा विकास, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाका लागि कार्ययोजना समेटिएको छ। साथै न्यायिक सुधार, वैदेशिक नीतिमा सन्तुलन र जलवायु परिवर्तनजस्ता समसामयिक चुनौतीलाई सम्बोधन गर्ने संकल्प पनि व्यक्त गरिएको छ।

