
भोजपुरका धेरै परिवारको मुख्य आम्दानीको स्रोत वैदेशिक रोजगारी बनेको छ। वैदेशिक रोजगारबाट आएको आम्दानीले परिवारको दैनिकी सहज भए पनि आवश्यक जानकारीको अभाव र सावधानी नअपनाउँदा केही श्रमिक ठगी र शोषणमा पर्ने गरेका छन्।
यस अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन ‘सुरक्षित आप्रवासन (सामी)’ कार्यक्रमले गाउँगाउँमा सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको छ। कार्यक्रममार्फत वैदेशिक रोजगारीका जोखिम कम गर्ने र सुरक्षित आप्रवासनबारे जानकारी प्रदान गर्ने काम भइरहेको छ।
सामी भोजपुरका जिल्ला कार्यक्रम संयोजक कर्ण पुलामीमगरका अनुसार जनस्तरमा फैलाइएको सचेतनाले सकारात्मक प्रभाव पार्न थालेको छ। उनले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन निरन्तर रूपमा गाउँस्तरमा कार्यक्रम गरिरहेको बताए।
कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा उपलब्ध गराइन्छ। ठगीमा परेका व्यक्तिलाई निःशुल्क कानुनी सेवामा सहजीकरण पनि गरिँदै आएको छ। साथै वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका वा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति प्राप्तिका लागि आवश्यक सहयोग गरिएको छ।
त्यसैगरी विप्रेषणलाई आयमूलक क्षेत्रमा उपयोग गर्न वित्तीय साक्षरता कार्यक्रम, मनोसामाजिक परामर्श कक्षा तथा क्षमता अभिवृद्धिसम्बन्धी गतिविधि पनि सञ्चालन हुँदै आएको सामी भोजपुरले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
