
निर्वाचन आयोग ले निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
बुधबार विज्ञप्ति जारी गर्दै आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई ले यस्तो जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार ‘निर्वाचन सुरक्षा–व्यवस्थापन निर्देशिका, २०८२’ को दफा ६ मा उल्लेख भएअनुसार निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न आवश्यक सबै कार्यहरू गर्न र सोही दफाको खण्ड (झ) बमोजिम निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन भनिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन ‘निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८’ अनुसार गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्णय गर्दै कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको हो।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका प्रमुख निर्णयहरू:
मौन अवधि र आचारसंहिता:
फागुन १८ गते राति १२:०० बजेदेखि लागू हुने मौन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिनेछ। आचारसंहिता उल्लंघन भएमा तत्काल कानुनी कारबाही गरी आयोगलाई जानकारी गराइनेछ।
मादक पदार्थ प्रतिबन्ध:
मतदान मितिभन्दा ७ दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइनेछ।
सवारी आवागमनमा रोक:
फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवा, कूटनीतिक नियोग र पास प्राप्त सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइनेछ।
हवाई उडान:
मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान नियमित सञ्चालन हुनेछन्। टिकट भएका यात्रुले विमानस्थलदेखि होटल वा घरसम्म निजी वा सम्बन्धित एयरलाइन्सको सवारी प्रयोग गर्न पाउने व्यवस्था गरिनेछ।
सीमा नाका बन्द:
निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिनेछ।
मतदानका लागि कागजात:
मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक सक्कल कागजात साथमा लानुपर्नेछ।
सवारी पास वितरण:
मतदानको दिनका लागि आवश्यक सवारी पास वितरण गर्न आयोगको सचिवालय परिसरमा छुट्टै इकाइ खडा गरी कर्मचारी खटाइनेछ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
