२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन। हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ताली बजाउने मतदाता अहिले ‘अडिटर’का रूपमा उम्मेदवारको प्रतीक्षा गरिरहेका छन्।

पुराना दलका नेताहरूलाई विगतको ‘रिपोर्ट कार्ड’ देखाउन मुस्किल परिरहेको छ भने नयाँलाई पुरानाजस्तै नहुने आधार पेस गर्न धौधौ छ। यहाँका मतदाताले अहिले मुख्य रूपमा चारवटा मुद्दालाई आफ्नो ‘बार्गेनिङ प्वाइन्ट’ बनाएका छन्, कमला पुलको अलपत्र अवस्था, भूमिहीनको लालपुर्जा, किसानको मलखाद र गाउँगाउँमा पक्की सडक।

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल १४ वर्ष बित्दा पनि निर्माण सम्पन्न नभएकामा स्थानीयको ठूलो आक्रोश छ।

सिरहा नगरपालिका-६ बसबिट्टाका स्थानीय युवा प्रवीण यादव भन्छन्,‘हरेक चुनावमा यही पुलको मुद्दा बेचेर नेताहरूले भोट लान्छन्। पुल बनिसक्नुअघि नै भासियो, तर कसैलाई कारबाही भएन। अब हामी पुलको शिलान्यास होइन, त्यसमा गाडी गुडेको देख्न चाहन्छौँ। जसले ठोस कार्यतालिका दिन्छ, उसैलाई भोट जान्छ।’

भगवानपुर, लहान, धनगढीमाई, गोलबजार र नवराजपुर क्षेत्रका मुसहर तथा दलित बस्तीमा पुग्ने उम्मेदवारलाई लालपुर्जाको प्रश्नले घेर्ने गरिएको छ। मुसहर समुदायका अगुवा रामसुफल सदाय भन्छन्,‘हाम्रा पुस्ता यही माटोमा बिते, तर हाम्रो नाममा एक धुर जमिनको लालपुर्जा छैन। हरेकपटक लालपुर्जा बाँड्छौँ भनेर फारम भराउँछन् तर चुनावपछि ती फारम कहाँ हराउँछन् कसैलाई थाहा हुन्न। यसपालि हामी कागज होइन, अधिकार खोज्दैछौँ।’

राजनीतिक विश्लेषक तथा दलित अभियन्ता राजेश विद्रोही यसपटकको चुनावी माहोललाई ‘उपेक्षित वर्गको विद्रोह’ का रूपमा चित्रण गर्छन्। उनका अनुसार सिरहाका दलित, भूमिहीन र सीमान्तकृत समुदाय अब केवल मतदान गर्ने मेसिनमात्र रहन तयार छैनन्।

विद्रोही भन्छन्,‘दशकौँदेखि दलित र भूमिहीनका नाममा राजनीति गरियो, तर उनीहरूको जीवनस्तर जहाँको तहीँ छ। लालपुर्जाको आश्वासन दिएर भोट बटुल्ने तर सत्तामा पुगेपछि बिर्सिने परम्पराले यसपटक ठूलो धक्का खाँदैछ। मतदाताले अब उम्मेदवारको अनुहार होइन, उनीहरूको इमानदारिता र विगतको कार्यशैलीको लेखाजोखा गरिरहेका छन्। यो कुनै एक दलको विरोधमात्र होइन, बरु वर्षौँदेखिको राजनीतिक ठगीविरुद्ध सचेत नागरिकले गरेको खबरदारी हो।’

अन्नको भण्डार मानिने तराईमा खेतीको समयमा रासायनिक मल नपाउनु यहाँका किसानको स्थायी पीडा हो। सुखीपुरका किसान रामवृक्ष यादव आक्रोश व्यक्त गर्दै भन्छन्,‘बाली लगाउने बेला मल पाइँदैन, धान बेच्ने बेला उचित मूल्य पाइँदैन। नेताहरू ठूला भाषण गर्छन्, तर एउटा मल डिपोको व्यवस्था गर्न सक्दैनन्। अब हामीलाई उम्मेदवारको अनुहार होइन, हाम्रो खेतमा पानी र बोरामा मल पुर्याउने प्रतिबद्धता चाहिन्छ।’

ग्रामीण भेगका सडकहरूको बेहाल अवस्थाले यसपटक मतदातालाई निकै चिढ्याएको छ। विशेषगरी बजार क्षेत्रसँग भित्री गाउँहरू जोड्ने सडकहरू दशकौँदेखि मर्मतको नाममा कार्यकर्ता पाल्ने माध्यममात्र बनेको स्थानीयको आरोप छ। बर्खामा हिलो र हिउँदमा धुलोले गर्दा स्वास्थ्यमा समस्या परेको भन्दै स्थानीयले उम्मेदवारलाई सचेत गराएका छन्।

स्थानीय बासिन्दाहरू भन्छन्, ‘हाम्रो गाउँको सडकमा वर्षैपिच्छे ग्राभेल त खन्याइन्छ, तर एक झरी पर्नेबित्तिकै त्यो बगेर जान्छ। यो सडक बनाउन आएको हो कि बजेट सिध्याउन?’ उनीहरूले अब उम्मेदवारहरूसँग सामान्य मर्मतको आश्वासन होइन, दीर्घकालीन र गुणस्तरीय पक्की सडकको ग्यारेन्टी मागेका छन्।

मतदाताको यो रूप देखेपछि पुराना दलका उम्मेदवारहरूले आफूले विगतमा गरेका केही कामको सूची बोकेर हिँड्न थालेका छन्। उनीहरू ‘समय अभाव’ वा ‘प्राविधिक समस्या’का कारण केही काम रोकिएको स्पष्टीकरण दिइरहेका छन्।

अर्कातर्फ, नयाँ दलका उम्मेदवारहरूले यी सबै बेथितिको कारक पुराना दल भएको आरोप लगाउँदै आफूलाई विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन्।

नागरिक अगुवा अर्जुन थपलिया भन्छन्, ‘मतदाता अब ‘रैती’ बाट ‘सचेत नागरिक’ मा रूपान्तरण भएका छन्। उनीहरूले जात, धर्म र दलभन्दा माथि उठेर विकास र सुशासनका लागि मतदान गर्ने मनस्थिति बनाएका छन्। यो लोकतन्त्रका लागि सुखद् पक्ष हो।’

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय