
निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभएको छ। उहाँले मौन अवधि प्रचारप्रसारपछि उम्मेदवारलाई शान्त रहन र मतदातालाई सोचविचार गरेर स्वतन्त्र रूपमा निर्णय लिन दिइएको समय भएकाले आचारसंहिताविपरीतका काम नगर्न अपिल गर्नुभएको छ।
उहाँले भन्नुभयो, “मौन अवधिमा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल र उम्मेदवारले मतदातालाई प्रभावमा पार्छन् कि भन्ने विषयमा आयोग सचेत छ। कानुनविपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी विशेष निगरानी मिलाइएको छ।”
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो। सुरक्षा व्यवस्थापनका लागि करिब तीन लाख ४२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। मतपत्र सबै निर्वाचन क्षेत्रमा पुर्याइसकिएको छ। मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको छ। मतदान स्थल तयारीको काम जारी छ।
उहाँका अनुसार आचारसंहिता अनुगमन तीव्र पारिएको छ। सामाजिक सञ्जालमा हुने आचारसंहिता उल्लङ्घन रोक्न प्राविधिक टोली परिचालन गरिएको छ। विशेषगरी टिकटकसँग समन्वय गरी उल्लङ्घन गर्ने सामग्री हटाउने व्यवस्था मिलाइएको छ।
निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकार र आयोगबीच प्रभावकारी समन्वय भइरहेको उहाँले बताउनुभयो। नेपाल सरकारको गृहमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरमा निर्वाचन सुरक्षा गोष्ठी सम्पन्न भइसकेको छ। आयोगले सुरक्षा चुनौतीको विश्लेषण गरेर आवश्यक तयारी गरेको जनाएको छ।
मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ। डिजिटल माध्यमबाट पनि सचेतना अभियान सञ्चालन भइरहेको छ। बदर मत घटाउन मतदाताले मतपत्रमा स्पष्ट रूपमा निर्वाचन चिह्नको कोठाभित्र मात्र स्वस्तिक छाप लगाउन र सही तरिकाले फोल्ड गर्न ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
मतदान व्यवस्थापनका लागि एक हजार मतदाता भएको ठाउँमा एउटा केन्द्र राखिएको छ। त्योभन्दा बढी भए थप केन्द्र राखिने छ। वृद्ध, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र बिरामीलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ।
मतगणनालाई छिटो बनाउन आवश्यक जनशक्ति बढाइएको छ। म्यानुअल प्रणालीमै मतगणना हुने भए पनि प्रक्रिया छिटो र प्रभावकारी बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो।
अन्त्यमा उहाँले फागुन २१ गते हुने निर्वाचनमा अनिवार्य रूपमा मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गर्नुभएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
