
प्रिय साथीहरू र परिवारजनहरु
मौन अवधि चलिरहेको छ त्यसैले म कुनै दल, उम्मेदवार वा विचारधाराको प्रचार गर्न चाहन्न तर एक जिम्मेवार नागरिकका रूपमा मेरो इमानदार आग्रह भने राख्न चाहन्छु कृपया सोचेर, बुझेर, विवेक प्रयोग गरेर मतदान गर्नुहोला तपाईं सक्षम हुनुहुन्छ ।
निर्वाचन केवल व्यक्तिको छनोट होइन, राज्यको दिशा तय गर्ने प्रक्रिया हो। त्यसैले प्रश्न उठाउनुपर्छ , हामी जसलाई रोज्दैछौं, के उसले शासनको आधारभूत संरचना बुझ्छ? राज्यका सस्थाहरु कसरी काम गर्छन्? कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलन के हो यसलाई सुधार कसरी गर्ने हो ? नीति निर्माण प्रक्रिया कस्तो हुन्छ? बजेट कसरी बनाइन्छ? सार्वजनिक स्रोतको प्राथमिकता कसरी निर्धारण गरिन्छ?
समाज विविध छ: वर्ग, क्षेत्र, भाषा, लिङ्ग, पेशा, विचार सबै फरक–फरक छन्। के हामीले रोज्ने प्रतिनिधिले यो विविधतालाई समग्र रूपमा प्रतिनिधित्व गर्न सक्छ? के ऊ केवल भिडको आवाज बन्ने हो? तपाईले मतदान गर्ने उम्मेदवार सम्पूर्ण समाजको नीतिनिर्माता बन्न सक्ने क्षमता राख्छ? आफैलाई सोध्नुहोस ल!
निर्वाचन लोकप्रियताको प्रतियोगिता होइन। यो ‘को धेरै चर्चामा छ’ भन्ने प्रतिस्पर्धा होइन। यो त सार्वजनिक उत्तरदायित्व सुम्पिने प्रक्रिया हो। एक पटक सुम्पिएको शक्ति पाँच वर्षसम्म प्रभाव पार्न सक्छ। त्यसैले भावनामा होइन, क्षणिक उत्तेजनामा होइन दीर्घकालीन प्रभाव हेरेर निर्णय लिनुपर्छ।
मैले मेरा नजिकका व्यक्तिहरुलाई “यो निर्वाचनमा मत नदिने भनेको थिए” विषयमा पनि स्पष्ट पार्न चाहन्छु। मैले यो कुरा किन उठाएँ भने हामीले कहिलेकाहीँ मतदानलाई स्वचालित बानी बनाएका छौं। बिना प्रश्न, बिना मूल्याङ्कन, केवल भावनामा बगछौ / बगिराखेका हुन्छौ । म चाहन्थें सबैले एकछिन रोकेर सोचौं के हामी सचेत छौं? के हामीले विकल्पहरूको विश्लेषण गरेका छौं?
मत नदिनु भनेको जिम्मेवारीबाट भाग्नु होइन, तर कहिलेकाहीँ प्रणालीप्रति असन्तोष प्रकट गर्ने तरिका पनि हुन हो तर हामी मतदान प्रक्रियाबाट अलग भयौं भने निर्णय अरूले लिन्छन् र त्यसको परिणाम हामी सबैले भोग्नुपर्छ। खाली ठाउँ सधैं भरिन्छ प्रश्न यति हो, त्यो ठाउँ कसले भरिरहेको छ?
आजको युगमा अर्को गम्भीर चुनौती छ सामाजिक सञ्जाल र
यसको एल्गोरिदम हाम्रो ध्यान, हाम्रो सोच, हाम्रो भावनालाई दिशा दिइरहेको छ। हामीले देख्ने सामग्री, हामीले सुन्ने कुरा, सबै कुनै न कुनै ढाँचाले फिल्टर गरिएओ हुन्छ। यस्तो अवस्थामा स्वतन्त्र निर्णय लिनु झन् कठिन हुन्छ। त्यसैले म अनुरोध गर्न चाहान्छु – कृपया आफ्नो मत एल्गोरिदमको प्रभावबाट होइन, आफ्नै विवेकबाट तय गर्नुहोस् र यी प्रश्न आफैंलाई सोध्नुहोस्:
१.मेरो निर्णय तथ्यमा आधारित छ कि ट्रेन्डमा?
२.म नीतिलाई हेरिरहेको छु कि व्यक्तित्वलाई मात्र?
३.म दीर्घकालीन स्थिरता सोचिरहेको छु कि क्षणिक सन्तुष्टि?
अझै विश्व अहिले जटिल परिस्थितिबाट गुज्रिरहेको छ आर्थिक अस्थिरता, क्षेत्रीय द्वन्द्व, जलवायु संकट जस्ता यावत विषयहरु छन् । यस्तो नाजुक अवस्थामा राज्यलाई सक्षम, अध्ययनशील, दूरदर्शी र उत्तरदायी नीतिनिर्माताहरू चाहिन्छ। भावनात्मक उत्तेजना भन्दा बढी तपाईले चयन गर्ने उम्मेदवारमा कति संरचनागत/ सस्थागत बुझाई , कानुनी ज्ञान, प्रशासनिक दक्षता र सामाजिक संवेदनशील कति छ भन्ने हेर्नू पर्ने हुन्छ।
हो, समाजमा आज चरम निराशा छ।
हाम्रा अग्रज (पुराना भनिने) हरूले सुदृढ बनाउनुपर्ने राज्यका संस्थाहरूलाई अति–दलियकरणको माध्यम बनाए, भागबण्डाको राजनीतिले देश खोक्रो बनाईयो, उत्तरदायित्वको सट्टा संरक्षणको संस्कार बस्यो र सार्वजनिक विश्वासलाई कमजोर पार्ने गरी भ्रष्टाचार संस्थागत बन्दै गयो। यी राज्यका संरचनाहरू नै निष्पक्ष र सक्षम देखिएनन त्यसैले युवापुस्तामा असन्तोष स्वाभाविक रूपमा बढयो हो त्यही असन्तोष, त्यही आक्रोश, त्यही परिवर्तनको चाहना हाम्रो पुस्ताको विद्रोह बन्यो भदौ २३ को आन्दोलन त्यो केवल प्रदर्शन थिएन; त्यो पुस्तागत अभिव्यक्ति थियो। त्यो सडकमा उत्रिएको भीड मात्र थिएन, त्यो विश्वास गुमाएको पुस्ताको आवाज थियो। त्यो दिन सम्झिँदा आज पनि मन भारी हुन्छ। ती ज्यानहरू, जसले आफ्नो जीवन गुमाए उनीहरू कसैको सपना थिए, परिवार थिए, भविष्य थिए। इतिहासका पानामा हाम्रो पुस्ताको रगतले लेखिएको त्यो अध्यायलाई हामीले केवल भावनामा सीमित राख्न मिल्दैन; त्यसलाई चेतनामा रूपान्तरण गर्नु आवश्यक छ।
हामीले ती बलिदानहरूलाई केवल स्मृतिको पानामा राख्ने मात्र होइन, त्यसबाट सिक्नु पनि आवश्यक छ। विद्रोहको अर्थ विनाश होइन; विद्रोहको अर्थ पुनर्संरचना हो। निराशालाई दिशाहीन क्रोधमा होइन, संरचनागत सुधारमा रूपान्तरण गर्नु आजको आवश्यकता हो।
अन्तिममा मतदान केवल अधिकार होइन, दायित्व पनि हो। तर त्यो दायित्व तब मात्र अर्थपूर्ण हुन्छ जब निर्णय सचेत हुन्छ। त्यसैले, मेरा प्रियजनहरू कृपया अझै आफ्नो समय दिनुहोस्, विश्लेषण गर्नुहोस्, आफैलाई अझै एकचोटि प्रश्न गर्नुहोस्, अनि मात्र निर्णय लिनुहोला है । तपाईंको मत सानो देखिन सक्छ, तर समग्र दिशालाई असर गर्ने शक्ति राख्छ। लोकतन्त्र भीडको स्वर होइन; चेतनाको अभ्यास हो। भोलि तपाईंले गर्ने निर्णय तपाईंको विवेकको प्रतिबिम्ब गरोस। हाम्रो पुस्ताले रगतले लेखेको इतिहास केवल दुःखको कथा नबनोस्; त्यो चेतनाको आधार बनोस्। सबैले मतदान गर्नुहोला।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
