
कांग्रेस सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै यादवले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केवरमा नभई लहानमा ट्रमा सेन्टर बनाउने बताएपछि आफूहरूको ध्यानाकर्षण भएको बताए।
मन्त्री मेहताले मधेस प्रदेशको लहानमा ट्रमा सेन्टर निर्माण हुने बताएपछि ढल्केवरको योजना अन्यत्र सार्ने विषयमा विवाद सुरु भएको हो। यादवले अन्यत्र ट्रमा सेन्टर बनाउने विषयमा आफूहरूको आपत्ति नरहे पनि ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर भने निर्माण हुनुपर्ने बताए।
‘अन्यत्र ट्रमा सेन्टर बन्दा हामीलाई कुनै आपत्ति छैन। तर ढल्केवरमा जुन डेडिकेटेड ट्रमा सेन्टर थियो, त्यो कहाँ हरायो ? सरकारसँग मेरो प्रश्न छ,’ यादवले भने।
धनुषाको हालको मिथिला नगरपालिका–७ मा रहेको ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको थियो।
त्यसयता हरेक वर्ष ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन हुँदै आए पनि निर्माणको काम भने अघि बढ्न सकेको छैन।
सांसद यादवले विषय उठाएपछि सभामुख डोलप्रसाद अर्यालले ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टरको अवस्थाबारे यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
