निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दलहरूले प्राप्त गरेको मतका आधारमा राजनीतिक दलहरूले समानुपातिकतर्फ सांसदका लागि नाम सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको औपचारिक घोषणा गरेको हो।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई चैत ५ गते प्रमाणपत्र वितरण गरिनेछ। आयोगले प्रमाणपत्र वितरणका लागि आवश्यक कागजात समयमै बुझाउन सम्बन्धित सांसदलाई आग्रह गरेको छ।
आयोगले दिएको जानकारी अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदले चैत ३ गते कार्यालय समयभित्र सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुई प्रति पासपोर्ट साइजका फोटो बुझाउनुपर्नेछ।




