
आफ्नै देशमा रहेको विश्वकै ठूलो प्राकृतिक ग्यास क्षेत्र ‘साउथ पार्स’मा इजरायलले आक्रमण गरेपछि त्यसको जवाफमा इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त आक्रमणबाट कतारको ऊर्जा पूर्वाधारमा ठूलो क्षति भएको बताइएको छ।
कतारको सरकारी स्वामित्वमा रहेको पेट्रोलियम कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार बुधबार गरिएको आक्रमणपछि मुख्य ग्यास प्लान्टमा आगलागी भएको थियो। आपत्कालीन टोली तत्काल खटिएर आगो नियन्त्रणमा लिएको जनाएको छ। केही घण्टापछि आगो निभाइएको भए पनि प्लान्टमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ। घटनामा भने मानवीय क्षति भएको छैन।
आक्रमणपछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासन गरेको छ। साथै, कतार सरकारले इरानी दूतावासका सैन्य तथा सुरक्षा सहचारीसहितका कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ।
रोयटर्सका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले ऊर्जा पूर्वाधारमा आक्रमण दोहोरिए अझ कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ। इरानले यस्तो आक्रमणलाई गम्भीर गल्ती भन्दै भविष्यमा थप कडा कदम चाल्ने संकेत दिएको छ।
यसअघि आईआरजीसीसँग सम्बन्धित समाचार एजेन्सी ‘तस्निम’ले इरानको साउथ पार्स ग्यास फिल्डमा इजरायलले हवाई आक्रमण गरेको जनाएको थियो। उक्त आक्रमणमा ग्यास फिल्डका विभिन्न भागमा क्षति पुगेको र कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।
साउथ पार्स विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र हो, जहाँ इरान र कतार दुवैले आफ्नो-आफ्नो प्लान्ट सञ्चालन गर्दै आएका छन्।
यसैबीच साउदी अरेबियाले पनि आफ्नो पूर्वी क्षेत्रमा ऊर्जा पूर्वाधारलाई लक्ष्य गरी ड्रोन आक्रमण भएको जनाएको छ। रियादको दक्षिणमा रहेको एक रिफाइनरीनजिकै ब्यालिस्टिक मिसाइलको भग्नावशेष फेला परेको छ।
मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य थप बढेको छ। अमेरिकी कच्चा तेलको मूल्य तीन प्रतिशतभन्दा बढीले उकालो लागेको बताइएको छ।
कतार सरकारले उक्त आक्रमणलाई आफ्नो राष्ट्रिय सुरक्षा र स्थिरतामाथिको प्रत्यक्ष खतरा भन्दै कडा प्रतिक्रिया जनाएको छ। विदेश मन्त्रालयले इरानले युद्धमा संलग्न नभएका देशहरूलाई द्वन्द्वमा तानिरहेको आरोप लगाएको छ।
कतारले आफ्नो सार्वभौमसत्ता र नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने चेतावनी दिएको छ।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा संयुक्त हवाई आक्रमण गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता क्षेत्रीय द्वन्द्व तीव्र बनेको छ। त्यसयता इरानले इजरायलसहित अमेरिकी अड्डा रहेका खाडी देशहरूमा पनि ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ।
यस क्रममा इजरायलले इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ। त्यसपछि इरानले निर्णायक प्रतिशोध लिने चेतावनी दिएको छ।
इरानका अनुसार हालसम्मको आक्रमणमा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। खामेनीको मृत्यु पछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाइएको छ। इजरायलले उनलाई पनि निशाना बनाउन सक्ने संकेत दिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
