
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको विषयमा सरकारको धारणा तत्काल सार्वजनिक हुनुपर्ने बताएका छन्।
सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा गृहमन्त्रीको साझेदारी देखिएको विषयमा स्पष्टता आवश्यक रहेको बताए।
उनले सुशासनको कुरा गर्ने गृहमन्त्रीबारे सञ्चार माध्यममा आएका विषयप्रति सरकार र सम्बन्धित पार्टीले आफ्नो धारणा प्रस्ट पार्नुपर्नेमा जोड दिए। साथै, रास्वपाका सभापति रवि लामिछानेले पनि यस विषयमा आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने उनले उल्लेख गरे।
लिङ्देनले सरकारले केही क्षेत्रमा सुधारका काम गरिरहेको स्वीकार गर्दै व्यवहारमा देखिने परिवर्तन आवश्यक रहेको बताए।
उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा आफ्नै अनुभव सुनाउँदै प्रक्रिया छिटो भए पनि लाइसेन्स कहिले पाइन्छ भन्ने टुंगो नहुने अवस्था रहेको बताए।
सामाजिक सञ्जालमा २४ घण्टामै लाइसेन्स वितरण हुने भनिए पनि व्यवहारमा त्यस्तो नदेखिएको भन्दै उनले यस्ता प्रचारभन्दा व्यवहारिक सुधार आवश्यक रहेको उल्लेख गरे।
लिङ्देनले केवल प्रचारमुखी कामले मात्र सरकार नचल्ने स्पष्ट पार्दै ठोस परिणाम देखिने गरी काम गर्न आग्रह गरेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
