
काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अतिक्रमित बस्ती हटाउने अभियान शनिबार पनि निरन्तर जारी रहेको छ।
सरकार र काठमाडौँ महानगरपालिकाको समन्वयमा आज कामपा–१६ बालाजु क्षेत्रमा पर्ने विष्णुमति नदी र धोबीखोला किनारमा बनेका घरटहरा हटाउने कार्य अघि बढाइएको हो।
यससँगै कामपा–१५ अन्तर्गत स्वयम्भू क्षेत्रका अतिक्रमित संरचना हटाउने काम पनि जारी रहेको प्रशासनले जनाएको छ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने कार्य भइरहेको छ।
यसअघि शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारका जोखिमयुक्त बस्ती हटाइएको थियो।
प्रशासनका अनुसार हालसम्म उपत्यकाभर करिब दुई हजार घरटहरा हटाइसकिएको छ। ती घरटहरा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका थिए।
बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’मा राखिएको छ।
यता, सहरी विकास मन्त्रालयका अधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भूमिहीन परिवारको लगत संकलन गरिरहेका छन्।
शनिबार बिहान विष्णुमति नदी किनारका अव्यवस्थित बस्ती भत्काउँदै डोजर। तस्बिर : हरिराम भेटुवाल/रासस
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
