
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचन सम्पन्न भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्।
एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा अध्यक्ष ओली सहभागी हुन लागेका हुन्। कार्यशालाको उद्घाटन पनि उनले नै गर्ने कार्यक्रम रहेको छ।
गत फागुनमा सम्पन्न निर्वाचनपछि सार्वजनिक कार्यक्रममा नदेखिएका ओली यस कार्यशालामार्फत पहिलो पटक पार्टीको औपचारिक कार्यक्रममा उपस्थित हुन लागेका हुन्।
एमालेले आयोजना गरेको उक्त कार्यशाला बिहीबारसम्म सञ्चालन हुनेछ। काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यशालामा पार्टी संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई मुख्य एजेन्डा बनाइएको छ।
कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय नेतृत्वको सहभागिता रहने जनाइएको छ। भारत प्रवासमा रहेका पार्टी प्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी हुनेछन्।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा सदस्यता नवीकरण प्रक्रिया, संगठन विस्तार, पार्टी संरचनाको सुदृढीकरण तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल गरिनेछ।
कार्यक्रममा एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकाल ले पार्टी संगठनको समग्र अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यस्तै केन्द्रीय सदस्य माधव ढुंगेल ले सदस्यता नवीकरणको प्राविधिक पक्षबारे प्रस्तुति दिने तयारी रहेको छ।
सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी छलफल, सुझाव संकलन तथा प्रस्तुतीकरणको कार्यक्रम समेत राखिएको एमालेले जनाएको छ।
निर्वाचनपछिको राजनीतिक परिवेशमा अध्यक्ष ओलीको यो सार्वजनिक उपस्थिति र पार्टीको संगठनात्मक अभियानलाई एमालेभित्र चासोका साथ हेरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
