२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अप्ठ्यारो परिस्थितिमा रहेका बेला नेतृत्व नछाड्ने स्पष्ट घोषणा गरेका छन्। उनले आफू पार्टीलाई सफलताको दिशामा अघि बढाएर मात्र विधि र विधानअनुसार विश्राम लिने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई पार्टीले सहज अवस्थाका लागि मात्र नभई चुनौतीपूर्ण परिस्थिति सामना गर्न नेतृत्वको जिम्मेवारी दिएको बताए।

उनले पुस ३ गते आफू अध्यक्षमा निर्वाचित भएको स्मरण गर्दै अनुकूल अवस्था हुँदा नेतृत्व गर्ने र अप्ठ्यारो अवस्था आएपछि जिम्मेवारी छाड्ने सोच आफूमा नरहेको स्पष्ट पारे।

‘अनुकूल वातावरण बन्यो, प्रधानमन्त्री बन्ने अवसर आयो भने अगाडि बढ्ने र अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भाग्ने भन्ने कुरा होइन,’ ओलीले भने, ‘जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्न र पार्टीलाई अगाडि बढाउनका लागि नै मलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।’

पार्टीभित्र आफूले नेतृत्व छाड्न सक्ने आशंका नगर्न कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टीलाई बीचमै अलपत्र छाडेर नजाने बताए।

‘मैले बीचमै झोला फ्याँकेर पार्टीलाई अलपत्र पारेर हिँड्ने हो कि भन्ने आशंका मनमा नराख्नुस्,’ उनले भने, ‘म अप्ठ्यारो परिस्थितिसँग जुध्छु, पार्टीलाई अगाडि बढाउँछु र सफलतामा पुर्‍याउँछु। त्यसपछि मात्रै विधान र प्रक्रियाअनुसार विश्राम लिने अवस्था आउँछ।’

अध्यक्ष ओलीले पछिल्लो समय पितृशोक, गिरफ्तारी तथा शल्यक्रियालगायत कारणले नियमित राजनीतिक गतिविधिमा केही अवरोध आएको उल्लेख गर्दै अब पार्टीका नेता–कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाउने बताए।

उनले पार्टी, आन्दोलन र देशलाई वर्तमान चुनौतीबाट पार लगाउने आफ्नो संकल्प यथावत रहेको पनि दोहोर्‍याए।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको एमाले सदस्यता नवीकरणबारे उठेका प्रश्नको पनि उनले जवाफ दिएका थिए। राष्ट्रपति पदमा रहँदा पार्टी सदस्यता नरहेकाले त्यतिबेला नवीकरणको प्रश्न नउठ्ने भन्दै हालै आवेदन दिएपछि सम्बन्धित कमिटीले सदस्यता प्रदान गरेको उनले स्पष्ट पारे।

‘उहाँ राष्ट्रपति भएका बेला पार्टी सदस्य हुनुहुन्नथ्यो। नभएको सदस्यता नवीकरण हुँदैनथ्यो,’ ओलीले भने, ‘अहिले आवेदन दिनुभएपछि सम्बन्धित कमिटीले सदस्यता दिएको हो। यस विषयमा भ्रम राख्नुपर्ने आवश्यकता छैन।’

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय