
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले औपचारिक रूपमा नयाँ पार्टी खोल्ने जानकारी दिएका हुन्।
राणाले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डा जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई बेवास्ता गरेको आरोप लगाउँदै नयाँ राजनीतिक यात्रामा अघि बढ्ने निर्णय गरेको बताए।
उनका अनुसार नयाँ पार्टीको मुख्य आधार ‘राजासहितको प्रजातन्त्र’ रहनेछ। उनले हिन्दू राष्ट्र, युवा तथा महिला नेतृत्व, सुशासन र रोजगारीलाई पार्टीको प्रमुख एजेन्डाका रूपमा अघि सारिने जानकारी दिए।
साथै उनले दुर्गा प्रसाईंको अभियानसहित अन्य राजावादी, राष्ट्रवादी तथा हिन्दूवादी संघ–संस्था र व्यक्तिहरूलाई समेटेर ठूलो राष्ट्रवादी शक्ति निर्माण गर्ने लक्ष्य राखिएको उल्लेख गरे।
यसैबीच बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममार्फत राप्रपाका १८३ जना नेताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
पहिलो चरणमा राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्यसम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका हुन्।
पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व तथा जनवर्गीय संगठनका प्रतिनिधिसहित अन्य नेताहरू पनि पार्टी छोड्ने निर्णयमा सहभागी भएका छन्। थप नेताहरूले पनि क्रमशः पार्टी परित्याग गर्ने बताइएको छ।
राप्रपा छोडेका नेताहरू अब धवलशमशेर राणाको नेतृत्वमा बन्ने नयाँ पार्टीमा सामेल हुने तयारीमा रहेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
