
हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको छ। तर कम वर्षा भए पनि बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम भने यथावत् रहने अध्ययनले देखाएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको ‘एचकेएच मनसुन आउटलुक २०२६’ प्रतिवेदनले छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण जोखिम कायमै रहने औंल्याएको छ।
विश्व तथा क्षेत्रीय जलवायु मोडेलका आधारमा तयार गरिएको अध्ययनले नेपाल, भारत, भूटान र पाकिस्तानलगायत देशमा औसतभन्दा कम वर्षा हुने तथा अधिकांश क्षेत्रमा तापक्रम औसतभन्दा बढी रहने अनुमान गरेको छ।
इसिमोडका जलविज्ञ मनीष श्रेष्ठका अनुसार मनसुन कमजोर देखिए पनि छोटो समयमा हुने अत्यधिक वर्षा अझै चिन्ताको विषय बनेको छ। उनले समुदाय तथा सम्बन्धित निकायलाई छोटो अवधिका मौसम पूर्वानुमान र परामर्शलाई नजिकबाट पछ्याउन आग्रह गरेका छन्।
प्रतिवेदनले लामो सुक्खापछि अचानक भारी वर्षा हुन सक्ने र त्यसले विशेषगरी पहाडी क्षेत्रमा आकस्मिक बाढी तथा पहिरोको जोखिम बढाउने उल्लेख गरेको छ। विज्ञहरूका अनुसार एउटै मौसममा खडेरी र बाढी दुवैको जोखिम देखिन सक्ने अवस्था छ।
इसिमोडका सह–लेखक सार्थक श्रेष्ठले हिमपात लामो समयसम्म नटिक्दा प्राकृतिक जल सञ्चय क्षमता कमजोर हुने र त्यसले नदी प्रणाली तथा भू–जल पुनर्भरणमा असर पार्ने बताएका छन्।
अध्ययनले तातो मौसमका कारण गर्मीजन्य समस्या बढ्न सक्ने, पानीको उपलब्धतामा दबाब पर्न सक्ने तथा कृषि, ऊर्जा र जलस्रोत क्षेत्रमा असर पर्ने संकेत गरेको छ।
इसिमोडकी जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख नीरा श्रेष्ठ प्रधानले मनसुनको बढ्दो अनिश्चितताले विपद् व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको बताइन्। उनले सरकार, प्राविधिक निकाय र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइन्।
विज्ञहरूले प्रारम्भिक चेतावनी प्रणाली, प्रभाव–आधारित पूर्वानुमान तथा स्थानीयस्तरको पूर्वतयारीलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो अनिश्चितताबीच एउटै प्रकारको विपद्को तयारी मात्र पर्याप्त नहुने अवस्था सिर्जना भएको छ।
हिन्दुकुश–हिमालय क्षेत्र अफगानिस्तान, बङ्गलादेश, भूटान, चीन, भारत, म्यान्मार, नेपाल र पाकिस्तानसम्म फैलिएको छ। करिब दुई अर्ब मानिसको खाद्य, पानी र ऊर्जा सुरक्षासँग जोडिएको यो क्षेत्र जलवायु परिवर्तनका असरबाट उच्च जोखिममा रहेको मानिन्छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
