
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजबाट औपचारिक रूपमा अघि बढ्ने भएको छ। प्रतिनिधि नामावलीसम्बन्धी विवादका कारण सोमबार अवरुद्ध भएको महाधिवेशन मंगलबार बिहानदेखि पुनः सुचारु हुन लागेको हो।
रास्वपाको न्यायिक समितिका नेता यज्ञमणि न्यौपानेका अनुसार बिहान १० बजेपछि मतदाता नामावली सार्वजनिक गरिनेछ। नामावली प्रकाशनसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाइने तयारी गरिएको छ।
मतदाता नामावली सार्वजनिक भएपछि दाबी–विरोधका लागि समय उपलब्ध गराइनेछ। त्यसपछि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुने जनाइएको छ।
न्यौपानेका अनुसार पार्टी सभापतिदेखि केन्द्रीय सदस्यसम्मका सबै पदका लागि उम्मेदवारी दर्ता खुला गरिने सहमति भएको छ। यससँगै महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गर्ने भएको छ।
यसअघि पार्टीभित्र सभापति र वरिष्ठ नेताको पदमा सहमतिका आधारमा टुंगो लगाएर अन्य पदमा मात्र निर्वाचन गराउने विषयमा छलफल भएको थियो। केही नेताहरूले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको पदमा समझदारी कायम गरेर बाँकी पदमा मात्रै प्रतिस्पर्धा गराउन सुझाव दिएका थिए।
तर सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह दुवैले आफूहरू पनि उम्मेदवारी दर्ता प्रक्रियाबाटै अघि बढ्नुपर्ने पक्षमा उभिएको जानकारी दिइएको छ। नेतृत्व चयन लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्ने उनीहरूको धारणा रहेको बताइएको छ।
न्यौपानेका अनुसार सभापति लामिछाने र वरिष्ठ नेता शाहले निर्वाचनका क्रममा कुनै समूह वा गुट निर्माण गर्ने गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने बताएका छन्। उनीहरूले स्वस्थ र मर्यादित प्रतिस्पर्धाको वातावरण बनाउन सबै प्रतिनिधि र नेताहरूलाई आग्रह गरेका छन्।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले आज सुरु हुने निर्वाचन प्रक्रियालाई पार्टीको भविष्यसँग जोडेर हेरिएको छ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
