
कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भन्दै विद्यार्थीहरूले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेपछि शिक्षामन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नभएको दाबी गरेका छन्। तर, सोही विषयमा उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी पनि दिएका छन्।
विद्यार्थीहरूले परीक्षाफलमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै पुनः जाँचको मागसहित प्रदर्शन गरेका थिए। त्यसपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले नतिजा हतारमा प्रकाशित नगरिएको र आवश्यक जनशक्ति थप गरी समयमै नतिजा सार्वजनिक गरिएको बताएका छन्।
यद्यपि, बढ्दो विवादका बीच शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरू सम्मिलित समिति गठन गरिएको उनले जानकारी दिएका छन्। उक्त समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्नेछ।
एकातिर नतिजामा कुनै त्रुटि नरहेको दाबी र अर्कोतर्फ छानबिनका लागि समिति गठन गरिएकाले सामाजिक सञ्जालमा मन्त्रीको भनाइलाई लिएर बहस सुरु भएको छ। विद्यार्थीहरूले भने निष्पक्ष छानबिन र आवश्यक परे नतिजा सच्याउनुपर्ने माग राखिरहेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
