
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको एक महिनापछि पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गर्ने तयारी गरेको छ।
यसका लागि पार्टी सभापति रवि लामिछानेले बुधबार केन्द्रीय समितिको दोस्रो बैठक बोलाएका छन्। बैठक बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा सभापति लामिछानेले मनोनीत हुने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।
चितवनमा असार ७ देखि १२ गतेसम्म भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट रवि लामिछाने सभापति, डा. स्वर्णिम वाग्ले र सोविता गौतम उपसभापति, विपीन आचार्य महामन्त्री तथा हरि ढकाल, असिम शाह र निशा डाँगी सहमहामन्त्रीमा निर्वाचित भएका थिए।
अब पार्टीले वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गर्न बाँकी छ। नेताहरूका अनुसार सभापति लामिछाने विशेषगरी कोषाध्यक्ष र प्रवक्ताको मनोनयन गर्ने तयारीमा छन्।
महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। केन्द्रीय सभापति र प्रदेश सभापतिहरू स्वतः केन्द्रीय सदस्य रहने व्यवस्था छ। १५८ सदस्यीय केन्द्रीय समितिमा सभापतिले अझै ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी रहेको छ। बुधबारको बैठकबाट केही केन्द्रीय सदस्य पनि मनोनयन गरिने तयारी छ।
महामन्त्री विपीन आचार्यले केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन हुन सक्ने जानकारी दिए। उनका अनुसार मनोनयन गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई प्राथमिकता दिइनेछ र समायोजन भएका पक्षलाई पनि महत्त्व दिइनेछ।
उनले केन्द्रीय समितिको दोस्रो बैठकमा पहिलो राष्ट्रिय महाधिवेशनको समग्र समीक्षा गरिने, आवश्यक कार्यविधि निर्माण तथा परिमार्जनबारे छलफल हुने र आगामी अभियान तथा कार्यक्रम सञ्चालनका विषयमा पनि दिशानिर्देश तय गरिने बताए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
