
जल तथा मौसम विज्ञान विभागले मनसुनको वर्षा गराउने प्रणाली नेपाल नजिकिएसँगै ठोरीदेखि सिमरासम्मका क्षेत्रमा भारी वर्षा भएको जनाएको छ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ नेपाल नजिक रहेको छ भने पश्चिमतर्फ सरदर स्थान अर्थात् भारततर्फको आसपास रहेको छ। यसकै प्रभावका कारण पूर्वी तथा मध्य तराईका केही क्षेत्रमा भारी वर्षा भएको हो।
पछिल्लो २४ घण्टामा ठोरीमा १५२.२ मिलिमिटर, सिमरा विमानस्थल क्षेत्रमा १५२ मिलिमिटर र कोल्हुवामा १४२ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकिएपछि ठोरीदेखि सिमरासम्मका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ।
उनले आज बिहानसम्म बागमती, मधेशको पश्चिमी भेग हुँदै सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको बताए। दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकापछि फेरि राम्रो वर्षा हुन सक्ने उनले जानकारी दिए।
मौसमविद् पोखरेलका अनुसार यो प्रणालीका कारण देशका अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना भए पनि तराईका सबै स्थानमा भने वर्षा नहुन सक्छ।
जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। विभागका अनुसार हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
