
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले काठमाडौंको गोकर्णमा नेपाली सेनाका एक सैनिकलाई हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएपछि नेपाली सेनाले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। घटनाबारे प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटेरै आफ्नो असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ।
गोकर्ण करिडोर विस्तारका क्रममा नेपाल ट्रस्टको जग्गाभित्र रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल डोजरले भत्काउने विषयमा सांसद पाण्डे र सैनिकबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भिडियोमा पर्खाल भत्काउन अघि बढेका सांसद पाण्डेलाई सैनिकले “यहाँ फौज बसेको छ” भन्दै रोक्न खोजेको देखिन्छ। त्यसको जवाफमा पाण्डेले “फौज बसेर के भयो ?” भन्दै प्रतिप्रश्न गरेका छन्।
सैनिकले पटक–पटक पर्खाल नभत्काउन र अनुमति सम्बन्धी कागजात देखाउन आग्रह गरे पनि सांसद पाण्डेले आफू करिडोरको मापदण्डअनुसार आएको र आवश्यक आदेश लिएर आएको बताएका छन्। उनले करिडोर विस्तारमा कुनै अवरोध नहुने पनि बताएका छन्।
सैनिकले उक्त क्षेत्र ब्यारेक भएको र पर्खाल भत्काउँदा समस्या हुन सक्ने बताउँदै सम्झाउने प्रयास गरेका थिए। जंगली जनावर बाहिरिन सक्ने जोखिमबारे पनि सैनिकले जानकारी गराएका थिए। तर, सांसद पाण्डे आफ्नो अडानबाट पछि हटेका थिएनन्।
साउन १९ गते प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका छन्। स्रोतका अनुसार उक्त भेटमा सांसद राजु पाण्डेले सैनिकसँग गरेको व्यवहारको विषय पनि गम्भीर रूपमा उठाइएको थियो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
