
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिरामी भएर हेलिकप्टरमार्फत उद्धार गरिएका पूर्वाधारमन्त्री सुनिल लम्सालको आफ्नै पार्टीका सांसदले आलोचना गरेकोप्रति असन्तुष्टि जनाएका छन्।
बुधबार सांसद र मन्त्रीहरूसँगको छलफलका क्रममा लामिछानेले बिरामी अवस्थामा रहेका मन्त्रीलाई सदनमै आलोचनाको विषय बनाइएको भन्दै आपत्ति जनाएका हुन्।
उनले बिरामी हुनु कसैको रहर नभएको भन्दै राजनीतिक विषय उठाउँदा पनि न्यूनतम मानवीय संवेदनशीलता ख्याल गर्न सांसदहरूलाई निर्देशन दिएका छन्।
सुदूरपश्चिम भ्रमणमा रहेका मन्त्री लम्साललाई युरिन इन्फेक्सन भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो।
विपक्षी दलहरूले सर्वसाधारणले उपचार नपाइरहेको अवस्थामा मन्त्रीलाई हेलिकप्टरबाट उद्धार गरिएको भन्दै प्रश्न उठाएका थिए। यही विषयमा सत्तारुढ रास्वपाका सांसद पारसमणि गेलाललगायतले पनि प्रश्न उठाएपछि सभापति लामिछानेले मन्त्रीको बचाउ गरेका हुन्।
‘युरिन इन्फेक्सन खतरा हो। युरिन इन्फेक्सनमा मान्छे मर्छ। यो मलाई पनि भएको थियो। त्यसैले ब्लेम लगाउने होइन,’ लामिछानेले भने।
उनले कोही पनि रहरले बिरामी नहुने भन्दै मन्त्रीको स्वास्थ्य अवस्थालाई राजनीतिक आलोचनाको विषय नबनाउन आग्रह गरे।
‘उहाँ बिरामी भएर गाह्रो भएर ल्याएको हो। यस्तो विषय कोट्याएर तुलना नगर्नुस्। विषय उठाउनुस्, तर मानवीय संवेदना पनि ख्याल गर्नुस्,’ उनले भने।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
