
पोखरा भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहको भिडियो खिचेको भन्दै उनको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले एक पत्रकारको क्यामेराबाट भिडियो हटाएको छ।
मुस्ताङ भ्रमण सकेर आइतबार पोखरा फर्किएका प्रधानमन्त्री शाह पोखरा–१४ स्थित मझेरी मन्जिल रिसोर्टमा बसेका बेला ‘मेरो साथी टीभी डटकम’का पत्रकार सुरेश सुनारले भिडियो खिचेका थिए।
पत्रकार सुनारका अनुसार रिसोर्टको गेटबाट भिडियो खिच्न नदिएपछि उनले विजयपुर खोलापारिबाट रिसोर्ट परिसरमा रहेका प्रधानमन्त्रीको दृश्य क्यामेरामा कैद गरेका थिए।
पारिपट्टिबाट भिडियो खिचिरहेको देखेपछि सेनाको टोली गाडी लिएर आएको र प्रधानमन्त्रीको भ्रमण ‘निजी’ भएको भन्दै क्यामेरामा रहेका दृश्यहरू एक–एक गरी डिलिट गर्न लगाएको सुनारले बताए।
यसअघि शुक्रबार सडकमार्ग हुँदै परिवार, सचिवालय टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) सहित पोखरा आएका प्रधानमन्त्री शाह मुस्ताङ जाने क्रममा माछापुच्छ्रे गाउँपालिकाको अस्तामस्थित अन्नपूर्ण इको भिलेज लजमा बसेका थिए।
त्यहाँ पनि सेनाले सुरक्षा व्यवस्था कडा पार्दै सञ्चारकर्मीलाई लजबाट करिब आधा किलोमिटर वरै रोकेको थियो। लजका कर्मचारीलाई समेत परिचयपत्रका आधारमा मात्र प्रवेश दिइएको थियो।
पत्रकारको क्यामेराबाट प्रधानमन्त्रीको भिडियो हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले आपत्ति जनाएको छ।
महासंघ कास्कीका अध्यक्ष माधव बरालले सार्वजनिक पदमा रहेका व्यक्तिको रिपोर्टिङ गर्ने क्रममा सेनाले पत्रकारको भिडियो डिलिट गर्नु प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन्।
यता जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्रांगत बरालले भने घटनाबारे आफूलाई पूर्ण जानकारी नभएको बताएका छन्। उनले सार्वजनिक स्थलमा भिडियो खिच्न प्रशासनले कुनै रोकटोक नगरेको स्पष्ट पारे।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
