२०८३ श्रावण २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धा र सम्मानपूर्वक मनाइँदैछ।

तनहुँको चुँदीरम्घामा वि.सं. १८७१ असार २९ गते जन्मिनुभएका भानुभक्तले संस्कृतमा लेखिएको रामायणलाई नेपाली जनजीवनसँग जोडिने गरी भावानुवाद गरेर नेपाली साहित्यमा युगान्तकारी योगदान गर्नुभएको थियो। उहाँले लेख्नुभएको रामायण आज पनि देशका अधिकांश घरमा सस्वर पाठ गरिन्छ।

भानुभक्तले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट नेपाली एकता र चेतनाको जग बसाउनुभएको साहित्यिक विश्लेषकहरूको भनाइ छ। पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकताबद्ध गरेझैं, भानुभक्तले भाषिक र सांस्कृतिक एकीकरणमा ऐतिहासिक भूमिका खेलेका थिए।

भानुभक्तको प्रेरणाको स्रोतका रूपमा एक सामान्य घाँसीको ‘राम्रो काम गरेर नाम कमाउनु पर्छ’ भन्ने भनाइलाई उल्लेख गरिन्छ। यसै प्रेरणाले उहाँलाई रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा अनुवाद गर्न उत्प्रेरित गरेको मानिन्छ।

उहाँका अन्य कृतिमा वधुशिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तर तथा अन्य फूटकर रचनाहरू प्रसिद्ध छन्। सरकारी कामकाजमा हुने ढिलासुस्तीको विरोध गर्दै लेखिएको उहाँको चर्चित पंक्ति — “भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली” — आज पनि सान्दर्भिक ठानिन्छ।

यस अवसरमा काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको शालिकमा माल्यार्पण तथा प्रभातफेरी गरिएको छ। देशभरका साहित्य, भाषा र संस्कृतिसम्बन्धी संस्थाहरूले भानु जयन्ती विशेष कार्यक्रम गरी मनाइरहेका छन्।

भारतको दार्जिलिङ, सिक्किम, भुटान, म्यानमार (बर्मा) लगायत नेपाली भाषी बसोबास गर्ने देशहरूमा पनि भानु जयन्ती उत्सवपूर्वक मनाइँदैछ।

भानुभक्तलाई आदिकवि भन्न नहुने भन्ने मत पनि साहित्य क्षेत्रमै उठ्ने गरेका छन्। तर त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीका अनुसार रामायणजस्तो गहन ग्रन्थलाई नेपाली जनभाषामा ल्याई भाषिक एकताको गहिरो प्रभाव पारेको कारणले उहाँलाई आदिकवि भन्नु न्यायसंगत हो।

वि.सं. १९२५ असोजमा उहाँको निधन भए पनि भानुभक्तको काव्ययात्रा र योगदान आज पनि नेपाली साहित्यको मेरुदण्डका रूपमा रहिरहने विद्वानहरूको मत छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय