२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रममार्फत मनाइँदै छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका कम्युनिष्ट दलहरूले श्रद्धाञ्जली, अन्तरक्रिया र विचार गोष्ठीमार्फत स्मृति दिवस मनाइरहेका छन्।

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनको जग बसालेका थिए। उनले कार्ल माक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट म्यानिफेस्टो’ पहिलोपटक नेपालीमा अनुवाद गर्नुका साथै नेपाली समाजको वर्ग विश्लेषण गर्दै नौलो जनवादको अवधारणा अघि सारेका थिए।

पुष्पलालकै नेतृत्वमा विसं २००६ वैशाख १० गते भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो। उनी पार्टीका संस्थापक महासचिव थिए। स्थापनाको समयमा नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ जस्ता अग्रगामी नेताहरू पनि उनको साथमा थिए।

पुष्पलालको राजनीतिक दृष्टिकोणले आजको यथार्थ पुष्टि

एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेका अनुसार, पुष्पलालले विसं २०२७ मै नेपाली कांग्रेससँग कार्यगत एकता गरेर प्रजातन्त्र पुनःस्थापनाको खाका प्रस्तुत गरेका थिए। “त्यति बेला हामीले उहाँलाई दक्षिणपन्थी भन्यौं,” उनले सम्झिए, “तर २०४६ सालको जनआन्दोलनमा कांग्रेससँग मोर्चा बनाउने निर्णय गर्दा पुष्पलालको दूरदर्शी सोच सही सावित भयो।”

त्यस्तै, माओवादी केन्द्रका सचिव राम कार्कीले पुष्पलाललाई नेपालमा कम्युनिष्ट आन्दोलनको आधारशिला राख्ने नेता भन्दै उनले नेपाली समाजको विशेषतालाई ध्यानमा राख्दै घोषणापत्र तयार पारेको बताए। “पुष्पलालले कम्युनिष्ट र कांग्रेस मिलेर मात्र प्रजातन्त्र सम्भव हुन्छ भनेका थिए, त्यसै अनुसार प्रजातन्त्र आयो,” उनले भने।

नेकपा (एकीकृत समाजवादी) का नेता डा. बेदुराम भुसालले भने पुष्पलालले सुरु गरेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता औंल्याए। “विभाजन धेरै भइसक्यो, अब एकता गरेरै मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली दिन सकिन्छ,” उनले भने।

देशभर कार्यक्रम, पुष्पलाल उद्यानमा विशेष श्रद्धाञ्जली सभा

नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, ग्रन्थ विमोचन र अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ। यस्तै, अन्य कम्युनिष्ट पार्टीले पनि मातहतका जिल्ला कमिटीहरूलाई स्मृति दिवस विशेष कार्यक्रम गरेर मनाउन निर्देशन दिएका छन्।

पुष्पलाल श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी नेपाली कम्युनिष्ट आन्दोलनका प्रेरक, दार्शनिक र मार्गदर्शकका रूपमा आज पनि स्मरण गरिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय