२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै तीव्र टिप्पणी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित ‘पुष्पलाल स्मृति दिवसमा समाजवादी मोर्चाको विचार गोष्ठी’ कार्यक्रममा उनले पार्टीभित्र ‘सिंगौरी खेल्ने’ अभ्यासलाई आफूले प्रश्रय दिएको स्पष्ट पारे।

प्रचण्डले नाम नलिए पनि शर्मालाई लक्षित गर्दै भने, “हिले पनि केही साथीहरूले ‘ल त, अलिकति सिंगौरी खेल्न पाए हुन्थ्यो’ भन्ने जस्तो गर्नुभएको छ। उहाँलाई प्रशस्त सिंगौरी खेल्न दिएको छु। डेढ महिना देशैभरी परामर्श भन्दै लिएरै हिँडेँ।”

उनको भनाइमा भिन्न मत राख्ने नेताहरूप्रति आफू उदार रहेको र कसैलाई कारबाही नगरेको उल्लेख छ। “भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन, अलि बढी उदार हुनु मेरो कमजोरी हो,” उनले भने, “मलाई पार्टीभित्रको आलोचना पनि त्यहीँबाट बढी हुने गर्छ।”

प्रचण्डले पार्टी छाडेर गएका नेताहरूमध्ये कोही पनि आफूले कारबाही गरेर ननिकालेको दाबी गरे। “कमरेड किरण, बाबुराम, बादल लगायत थुप्रै नेताहरू पार्टी छाडेर जानुभयो, तर मैले कसैलाई पनि पार्टीबाट निकालेको छैन,” उनले स्पष्ट पारे, “कतिपयलाई लाग्छ– ‘निकालेको छैन भनेर के गर्नु, बस्ने ठाउँ नै दिएनन्।’ तर त्यो सत्य होइन। मैले छलफल र बहसको पर्याप्त वातावरण दिएको छु।”

उनको अभिव्यक्तिलाई हाल माओवादीभित्र उत्पन्न आन्तरिक असन्तोष र नेतृत्वप्रतिको आलोचना सन्दर्भमा हेर्न सकिन्छ। हालै पार्टीभित्रको असन्तुष्ट समूह नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएको छ। प्रचण्डको पछिल्लो टिप्पणी त्यसै सन्दर्भमा प्रत्यक्ष जवाफको रूपमा आएको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय