२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आज नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने भएको छ। राजधानी काठमाडौंमा बहुमत केन्द्रीय सदस्यको आह्वानमा जारी राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हिजो कारबाही गरेपछि आज नयाँ नेतृत्व चयन गर्न लागेको हो।

राष्ट्रिय भेला टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित नछुट्ने गरी कार्यसमिति गठन गर्ने तयारीमा छ। अध्यक्ष पदका लागि रामलाल डगौरा, लालवीर चौधरी र गङ्गा चौधरीको नाम चर्चामा छ।

रामलाल डगौरा टीकापुर नगरपालिकाका मेयर तथा हालको भेलाका अध्यक्ष हुन् भने लालवीर चौधरी पार्टीका संरक्षक रेशम चौधरीका पिता हुन्। अर्का आकांक्षी गङ्गा चौधरी पहिले महासचिवको भूमिकामा थिए, तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको छैन। उनी नाउपा संसदीय दलका नेता हुन्।

पार्टीले अध्यक्षसहित एक वरिष्ठ उपाध्यक्ष, सातवटै प्रदेशका संयोजकसहित सात उपाध्यक्ष, एक महासचिव र सात सहमहासचिव तोक्ने तयारी गरेको छ। नयाँ नेतृत्व चयनको प्रक्रिया रेशम चौधरी निर्वाचन आयोगको परामर्शमा गरिरहेका छन्।

रञ्जिता पक्षको बहिष्कार, कारबाही अस्वीकार
रञ्जिता श्रेष्ठ पक्षका सांसद र केन्द्रीय सदस्यहरू भने भेलामा सहभागी छैनन्। कारबाहीप्रति असहमति जनाउँदै श्रेष्ठले आफूविरुद्धको निर्णयलाई अवैधानिक भनेकी छन्।

उनको भनाइमा, “राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षमा मात्र हुन्छ। मैले कुनै भेला आह्वान गरेकी छैन, त्यसैले यो अवैधानिक भेला हो।”

श्रेष्ठले संसदीय दलको बैठकले पार्टीको बैठक बोलाउन नसक्ने दाबी गर्दै उक्त बैठकबाट सुरु भएको विवादले पार्टीलाई थप कमजोर बनाएको आरोप लगाइन्।

उनको तर्कमा, गङ्गा चौधरीलाई महासचिवको रूपमा निर्वाचन आयोगले मान्यता नदिएको हुँदा उनले महासचिवको हैसियतमा पठाएको पत्र, बैठक आह्वान र पार्टीको लेटरहेड प्रयोग सबै अवैधानिक हो।

कार्यवाहक तोकिएको निर्णयमाथि पनि विवाद
साउन ११ गते श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि विवाद झनै चर्किएको हो। त्यसको जवाफमा निर्वाचन एवं अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो।

श्रेष्ठले भने उक्त निर्णय आफूले विधानअनुसार गरेको दाबी गरेकी छन्। “संरक्षक रेशम चौधरीले सुझाव दिएअनुसार म आफैंले मनोनीत गरेको वरिष्ठ नेतालाई कार्यवाहक बनाएकी हुँ,” उनले भनिन्, “विधिमा त्यो व्यवस्था छ।”

उनले पार्टीभित्रको असहमति संवाद र प्रक्रिया मार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै अझै संवादको पक्षमा रहेको बताइन्।

नयाँ कार्यसमिति गठनपछि नाउपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुग्ने सम्भावना छ। अब आयोगले कुन पक्षलाई वैधानिक मान्यता दिन्छ भन्ने कुराले पार्टीको भविष्य निर्धारण गर्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय